काठमाडौँ। समीक्षा मगरको दुई गोलप्रेरित कोशी प्रदेशले एन्फा महिला लिन छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको नवौँ मिनेटमै समीक्षाले गोल गर्दै कोशीलाई अग्रता दिलाइन्। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा उनले नै गोल गर्दै कोशीको अग्रता २–० मा पुर्याइन्।
दोस्रो हाफ शुरू भएको चौथो मिनेटमा यशोदा चिरालले गोल गरेपनि सुदूरपश्चिमलाई हारबाट जोगाउन सकिनन्।
कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै, सुदूरपश्चिमले पनि गण्डकी प्रदेशलाई ५–१ को हार चखाएको थियो।