काठमाडौँ। म्यानचेस्टर सिटीलाई उछिन्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
क्रेभेन कुटीजमा आइतबार राति सम्पन्न खेलमा घरेलु टोली फुलह्यामलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा रहेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।
३३ खेल खेलेको लिभरपुलको ७४ अंक रहेको छ। शीर्ष स्थानमा रहेको आर्सनको पनि समान अंक रहेको छ। यस्तै, एक खेल कम खेलको सिटीको ७३ अंक रहेको छ।
खेलको ३२औँ मिनेटमै ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डले गोल गर्दै लिभरपुललाई शुरूआती अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा टिमोथी कास्टग्रेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
५३औँ मिनेटमा रायन ग्रेबेनवर्चले हहार्वो इलियटको पासमा गोल गर्दे लिभरपुललाई २-१ को अग्रता दिलाए। ७२औँ मिनेटमा डियागो जोटाले कोडी गाक्योको पासमा गोल गर्दै लिभरपुललाई ३-१ को सहज जित दिलाए।