विराटनगर। घरेलु टिम टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ गोलले हराउँदै कनकाई सेमिफाइनलमा पुगेको हो।जितसँगै कनकाईले फाइनल प्रवेशको लागि बुधबार हुने पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग खेल्नेछ।
जितको लागि कनकाईका सन्दीप रसाइलीले दुई गोल गरे। उनी खेलको प्लेयर अफ द म्याच घोषित भए। टिडब्ल्युका आशिष राईले सान्त्वना गोल फर्काए। खेलको अन्त्यमा टिडब्ल्युका खेलाडी सम्हालिन नसक्दा हार बेहोर्यो ।
खेल सुरु भएको २७औँ मिनेटमा आशिषले डिबक्स भित्रबाट गोलगरी सुरुवाती अग्रता लिए। झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आषिशले गोलमा परिणत गरे।
टिडब्ल्युको अग्रता २७ मिनेट पनि टिक्न सकेन। दोस्रो हाफदेखि आक्रामक खेल पस्किँदै ५०औँ मिनेटमा कनकाईका सन्दीप रसाइलीले गोल गरी खेल बराबरीमा ल्याए।
खेल सकिँन दुई मिनेट अगाडी कनकाईका खेलाडी श्याम मुर्मीलाई टिडब्ल्युका खेलाडीले डिबक्सभित्र फल खेलेपछि रेफ्री मदन काफ्लेले पेनाल्टी दिए। पेनाल्टीमा कनकाईका सन्दीपले आकर्षक गोल गरी टिमको जित सुनिश्चित गरे।