काठमाडौँ। च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा बुधबार रियल मड्रिडसँग ट्राइ बेकरमा पराजित भएको म्यानचेस्टर सिटीले शनिबार चेल्सीविरुद्ध खेल्दै छ।
वेम्वली स्टेडियममा शनिबार एफए कप सेमिफाइनलमा यी दुई टोली भिड्न लागेका हुन्। तर, सिटी आफ्ना मुख्य दुई खेलाडीबिना नै मैदान उत्रिने सम्भावना बढेको छ।
बुधबार च्याम्पियन्स लिगको अतिरिक्त समय (११२औँ मिनेट)मा केभिन डे ब्रुएनालाई प्रतिस्थापन गरिएको थियो। उनको स्थानमा माटेओ कोवासिक मैदान प्रवेश गरेका थिए।
मुख्य प्रशिक्षक पेप गार्डियोलाका अनुसार ३२ वर्षीय ब्रुएनाले थकाइ महसुस गरेका थिए। उनले नै आफूलाई प्रतिस्थापन गर्न आग्रह गरेको गार्डियोला बताउँछन्। त्यसैले पेनाल्टी सुटआउटमा पराजित हुँदा ब्रुएना मैदानमा थिएनन्।
शुक्रबार ब्रुएनाको अवस्थाबारे सोध्दा गार्डियोलाले भने, 'उनी मानव हुन्, मेसिन होइनन्। कहिलेकाहीँ थकान हुन्छ। त्यसमाथि उनी पाँच महिना घाइते भएपछि मैदान उत्रिएका हुन्। तर, उनी ठिक छन्। हामी भोलि हेर्नेछौँ।'
ब्रुएनाजस्तै एर्लिङ हालान्डलाई पनि रियलविरुद्धको खेलमा प्रतिस्थापन गरिएको थियो। यद्यपि, गार्डियोलाले खेलपछि पोस्ट म्याच कन्फरेन्समा नम्बर ९ मांसपेशीको समस्याबाट पीडित भएकाले चेल्सीविरुद्धको यो खेल गुमाउनसक्ने बताएका थिए।
'मलाई थाहा छैन, म डाक्टर होइन। उसले अलिकति असहज महसुस गर्यो। यद्यपि, उनमा मांसपेशी समस्या देखिएको छ। जसको मतलब उनले खेल्न सक्दैनन्,' गार्डियोलाले भने।