काठमाडौँ। भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको उपस्थितिबिनै अल नासारले साउदी प्रो लिगमा अल फेहामाथि सहज जित हासिल गरेको छ।
अल-अवल पार्कमा शुक्रबार राति भएको खेलमा नासारले पाहुना टोली फेहालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
खेलको छैटौँ मिनेटमै फेसन सकलाको गोलमार्फत फेहाले शुरूआती अग्रता बनाएको थियो। उनले एन्थोनी नाडुजोर न्वाकेमेको पासमा गोल गरे। ४२औँ मिनेटमा मानेले पेनाल्टी मिस गर्दा नासार खेलमा फर्किन सकेन।
७२औँ मिनेटमा अब्दुल्लाह अल आमरीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। उनले एलेक्स टेल्सको पासमा गोल गरे।
७६औँ मिनेटमा ओटाभियोको पासमा मानेले गोल गर्दै नासारलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि नै अब्दुल्लाह अल खैबारीमो पासमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।
यो खेलमा रोनाल्डोमाथि प्रतिबन्ध लागेको थियो। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए।
उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले प्रहार गरेका थिए। हिलालको जितमा अल–डावसरी र माल्कमले गोल गरेका थिए। नासरको लागि साडियो मानेले एक गोल फर्काए।
रोनाल्डोले मैदान छाड्दा रेफ्रीलाई समेत मुक्का ताकेका थिए। त्यसैले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिले रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लगाएको थियो।
जितसँगै दोस्रो स्थानमा रहेको नासारको २८ खेलबाट ६८ अंक रहेको छ। जुन अंक शीर्ष स्थानमा रहेको अल हिलालको भन्दा ९ अंक कम हो। हिलाले एक खेल कम खेलेको छ। ११औँ स्थानमा रहेको फेहाको समान खेलबाट ३८ रहेको छ।