काठमाडौँ। सानेपा क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा पहिलो जित हासिल गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा बुधबार सम्पन्न दिनको दोस्रो खेलमा सानेपाले स्वयम्भू क्लबलाई २-१ ले पराजित गरेको हो।
सानेपाको जितमा पेमा दोर्जे लामा र नीराजनजंग शाहीले १/१ गोल गरे। यता, स्वयम्भूका लागि सुग्रित मगरले गरेको गोल सान्त्वना रह्यो।
खेलको पाँचौँ मिनेटमै पेमाले गोल गर्दै सानेपालाई शुरूआती अग्रता लिएको थियो। तर, ४८औँ मिनेटमा सुग्रितले गोल गर्दै खेलमा स्वयम्भूलाई १-१ को बराबरीमा अवस्थामा ल्याए।
त्यसपछि खेल सकिन ४ मिनेट बाँकी रहँदा नीराजनले गोल गर्दै सानेपालाई २-१ को जित दिलाए।