गोरखा। टाई ब्रेकरमा थ्रीस्टार क्लबलाई पराजित गर्दै क्यासिस स्पोर्ट्स एकेडेमी चितवनले नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
ओसन क्लब गोरखाको टर्फ मैदान दल भन्ज्याङमा शनिबार सम्पन्न फाइनल खेलमा क्यासिसले थ्रीस्टारलाई टाई ब्रेकरमा ३-२ गोल अन्तरले पराजित गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाई ब्रेकरमा गरिएको हो।
टाई ब्रेकरमा क्यासिसका सन्दीप अधिकारी, रमित गुरुङ र मनिष दुराले गोल गरे। थ्रीस्टारका पारस आदि र विनोद वाइबाले गोल गरे। जाजी हाङ राईको प्रहार क्यासिसका गोलरक्षक आयुष गुरुङले रोके।
त्यसअघि प्रसिद्ध बालम्पकीले खेलको दोस्रो मिनेटमै गोल गर्दै क्यासिसलाई अग्रता दिलाएका थिए। तर, आठौँ मिनेटमा प्रतीक कुँवरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
जितसँगै क्यासिसले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्राप्त गर्यो। उपविजेता थ्रीस्टारले ट्रफी, मेडल र प्रमाणपत्रसहित १० हजार रुपैयाँमा चित्त बुझायो।