गोरखा। नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लब र क्यासिस स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्।
ओसन क्लब गोरखाको आयोजनामा क्लबको उर्फ मैदान दल भन्ज्याङमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको छ।
खेलको ११औँ मिनेटमा डेनिस गौतमले गोल गर्दै काँकडभिट्टालाई शुरूआती अग्रता दिलाए। तर, त्यसको ८ मिनेटपछि प्रसिधा बलामी मगरले गोल गर्दै थ्रीस्टारलाई खेलमा फर्काए।
त्यसपछि काँकडभिट्टाका प्रसिधा खतिवडाले आत्मघाती गोल गर्दा थ्रीस्टार खेलमा २-१ गोल अन्तरले अगाडि रह्यो। ३९औँ मिनेटमा पारस आदिले गोल गर्दै थ्रीस्टारलाई ३-१ को जित दिलाए।
खेलको म्यान अफ द म्याच सितल राई भए। दोस्रो सेमिफाइनलमा क्यासिसले नव जनजागृति युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो।
१६औँ मिनेट डिप्सन सुनमले गोल गर्दै क्यासिसलाई अग्रता दिलाए। ४१औँ मिनेटमा सन्दीप अधिकारीले गोल गर्दै क्यासिसको अग्रता दोब्बर बनाए। म्यान अफ द म्याच डिप्सन भए।