सिमरा। १४औँ जितपुरसिमरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल तीव्र हावाका कारण स्थगित भएको छ।
बिहीबार सिमरा रंगशालामा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ र फ्रेन्ड्स क्लबबीच खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन्।
दोस्रो हाफको १३औँ मिनटपछि रेफ्री उमेश विडारीले खेल रोक्ने संकेत गरेका थिए। सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासी तीव्र गतिमा हावाहुरी आएको थियो। रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइतेसमेत भएका छन्।
५८औँ मिनटपछिको खेल शुक्रबार बिहान ८ः३० बजेपछि शुरू हुनेछ। स्थगित हनुअघिको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। मकवानपुर ११ हेटौँडालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको एपीएफ र सिधै क्वार्टरफाइनल खेल्न सिमरा रंशालामा उत्रिएको फ्रेन्ड्स क्लब दुवैले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।
११औँ मिनटमा एपीएफले अग्रता लिने अवसर गुमाएको थियो। शरण बस्नेतले पेनाल्टी बक्सभित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले सहज रूपमा बचाउ गरे।
१३औँ मिनटमा फ्रेन्ड्सका साईमन लिम्बुले वन भर्सेस वनको स्थिति सदुपयोग गर्न सकेनन्। पेनाल्टी बक्सबाहिर पाएको बललाई अघि बढाए पनि साइमनले पोस्टको दिशा दिन नसक्दा एपीएफका डिफेन्डरले सुमन श्रेष्ठले क्लियर गर्ने मौका पाए।
त्यसलगतै १५औँ मिनटमा फ्रेन्ड्सले अर्को सुन्दर मौका गुमायो। कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो।
१८औँ मिनटमा एपीएफका अनीश महर्जनले पेनाल्टी बक्स भित्रै पाएको अवसर खेर फाले। प्रदीप लामाको क्रसमा अनीशको प्रहार फ्रेन्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए।
२६औँ मिनटमा एपीएफको अर्को सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे। बिके तामाङको कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदीप लामाको सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए।
४२औँ मिनटमा फ्रेन्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउन्ड भयो। साईमन लिम्बुको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले सशक्त प्रहार गरेका थिए। रिबाउण्ड बलमा दीपेश घलेको अर्को प्रहार क्रसबारबाट माथि गयो।