चितवन। अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कर्णाली र सुदूरपश्चिमी प्रदेशबीचको दोस्रो सेमिफाइनल खेल पहिलो हाफ खेलेर स्थगित भएको छ।
भरतपुरको शारदानगर फुटबल मैदानमा पहिलो हाफ सकिएपछि हावाहुरीका कारण दोस्रो हाफ स्थगित गरिएको हो।
पहिलो हाफमा भने सुदूरपश्चिमले १–० गोलको अग्रता बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान अञ्जली चन्दले खेलको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन्।
दुई टोलीबीचको दोस्रो हाफको खेल भोलि शुक्रबार हुनेछ। कर्णाली र सुदूरपश्चिमी विजेता टोलीले कोशी प्रदेशसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल शनिबार हुनेछ।