काठमाडौँ। दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लबसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार सम्पन खेलमा स्वयम्भु र गोलबजारले २-२ गोलको बराबरी खेलेका हुन्।
स्वयम्भुका सुग्रित मगर र रञ्जन पुनले १/१ गोल गरे । गोलबजारका लागि आशाहाङ राई र सनम थापाले १/१ गोल फर्काए।
खेलको २१औँ मिनेटमा सुग्रितको गोलमार्फत स्वयम्भुले शुरूआती अग्रता लिएको थियो । दोस्रो हाफको शुरूआतमै रञ्जनले टोलीको अग्रता दोब्बर बनाए ।
तर, ५५औँ मिनेटमा गोलबजार २–१ को स्थितिमा फर्कियो। गोलबजारका आशाहाङले गोल फर्काए। इन्जुरी समयमा सनमले गोल गरेसँगै खेल २-२ को बराबरीमा सकियो ।
बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।