काठमाडौँ। जाबी अलोन्सो इङ्लिस क्लब लिभरपुल नफर्किने भएका छन्। लिभरपुले योर्गन क्लोपको स्थानमा आफ्नो ४२ वर्षीय पूर्व मिडफिल्डर अलोन्सोलाई भित्र्याउने तयारी थालेको थियो। तर, उनले आफू जर्मन लिग लिडर बायर लेभरकुसेनसँग नै रहने इच्छा व्यक्त गरेका हुन्।
अलोन्सो लेभरकुसेनमा बस्ने भएसँगै लिभरपुलले ब्राइटनका रोबर्टो डे जर्बी र स्पोर्टिङ सीपी रुबेन अमोरिममध्ये एकलाई एनफिल्ड भित्र्याउने तयारी थालेको छ।
अलोन्सो स्पेनले सन् २०१० को विश्वकप तथा २००८ र २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा टोलीका महत्त्वपूर्ण मिडफिल्डर थिए।
अलोन्सोले सन् २००४ देखि २००९ सम्म लिभरपुलको जर्सीमा २१० खेल खेलेका थिए। त्यस अवधिमा उनले च्याम्पियन्स लिग, एफए कप र यूईएफपए सुपर कपको उपाधि जिते। त्यसपछि उनी आफ्नै देश फर्किएर रियल मड्रिडमा आबद्ध भए।
१५८ खेल खेलेका उनले करिब ५ वर्ष रियलमा बिताए। खेलबाट सन्न्यास लिनुअघि तीन वर्ष उनले जर्मन क्लब बायर्न म्युनिखमा बिताए। बायर्नबाट उनले ७९ खेल खेले।
अलोन्सो सन् २०१८ मा रियलको यू-१४ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तीन वर्ष रियल सोसिडाडको ‘बी’ टोलीको जिम्मेवारी सम्हाले।
अक्टोबर २०२२ मा लेभरकुसेनले उनलाई पहिलो प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। उनी भित्रिँदा क्लब बुन्डेसलिगामा १७औँ स्थान अर्थात् रेलिगेसन जोनमा थियो। तर, उनी भित्रिएसँगै बायर लेभरकुसेनले सानदार प्रदर्शन गरिरहेको छ।
उक्त सिजन क्लबले सुधारिएको प्रदर्शन गर्यो र छैटौँ स्थानमा पुग्यो। उक्त सिजन लेभरकुसेनले ३४ खेलमा १४ जित, ८ बराबरी र १२ हारसहित ५० अंक जोडेको थियो।
यो सिजनका ८ खेल बाँकी रहँदा लेभरकुसेन अपराजित रहँदै उपाधि होडमा रहेको छ। अंक तालिकाको शीर्ष स्थानमा रहेको लेभरकुसेनले २६ खेलबाट २२ जित ४ बराबरीसहित ७० अंक जोडेको छ।
जुन साबिक विजेता बायर्न म्युनिखको भन्दा १० अंकले बढी हो। लेभरकुसेन लगातार दोस्रो वर्ष युरोपा लिगको अन्तिम आठमा पनि प्रवेश गरेको छ।
लेभरकुसेनका लागि यो एक ऐतिहासिक सिजन हो। उसले २६ खेल खेलिसक्दा ६६ गोल गरेको छ भने मात्रै १८ गोल खाएको छ।
बायर्न पनि अलोन्सोलाई भित्र्याउने इच्छा व्यक्त गरेको थियो। तर, बायर्नका पूर्वअध्यक्ष उली होएनेसले यो वर्ष स्पेनिस पूर्वखेलाडी अलोन्सोलाई म्युनिख ल्याउन सम्भवतः असम्भव रहेको बताए।
‘हालको सफलतालाई ध्यानमा राख्दै अलोन्सो बायर लेभरकुसेनमा रहन इच्छुक छन्,’ उनले भने। कार्लो एन्सेलोट्टीको सम्झौता २०२६ मा समाप्त हुँदा अलोन्सो रियल फर्किने अनुमान गरिएको छ।