काठमाडौँ। यूईएफए महिला च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि क्याटलान क्लब बार्सिलोना र इङ्लिस क्लब चेल्सी भिड्ने भएका छन्।
जोहान क्रुफ स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्रानलाई दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम चारमा चेल्सीसँगको भेट पक्का गरेको हो। क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले ब्रानलाई १–० गोल अन्तरले पराजित गरेको थियो। समग्रमा बार्सिलोनाको ५–२ गोल अन्तरको जित हो।
बार्सिलोनालाई छैटौँ पटक सेमिफाइनलमा पुर्याउन बोनमती कोन्का, फ्रिडोलिना रोल्फो र गुइजारो गुटिएरेजले १/१ गोल गरे। ब्रानका लागि टोमिन स्वेनडाइमले एक गोल फर्काइन्।
खेलको २४औँ मिनेटमा बार्सिलोनाले कोन्काको गोलमार्फत् अग्रता बनाएको थियो। ५६औँ मिनेटमा रोल्फोले गोल गर्दै अग्रता दोब्बर बनाइन्।
७०औँ मिनेटमा ब्रानकी स्वेनडाइमले गोल गर्दा खेल २–१ को स्थितिमा पुगेको थियो। तर,८८औँ मिनेटमा गुटिएरेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाइन्।
बार्सिलोना दुई पटकको विजेता हो। बार्सिलोनाल् सन् २०२१ र २३ मा उपाधि जितेको थियो। सन् २०२१ को फाइनल भिडन्तमा भने बार्सिलोना र चेल्सी भिडेका थिए।