काठमाडौँ। इङ्लिस प्रिमियर कप म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ।
फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) पनि इच्छुक थिए।
मेल स्पोर्ट्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र युरोपेली च्याम्पियन सिटी फिलाडेल्फियासँग सम्झौतानजिक पुगिसकेको छ। जुन अमेरिकाको फुटबल लिग मेजर सकर लिग (एमएलएस) इतिहासमा घरेलु स्टारको लागि भुक्तान गरिने सबैभन्दा ठूलो रकम हुने छ।
यद्यपि, सिटीले तिर्न सहमत भएको शुल्क हाल अस्पष्ट छ। सुलिभान १८ वर्षको उमेरसम्म आधिकारिक रूपमा सिटी भने जाने छैनन्। यसबीचमा उनी आफ्नो वर्तमान क्लबसँग घरेलु फुटबल खेल्ने छन्।
पेप ग्वार्डिओला एन्ड कम्पनीले शुरूमा सुलिभानलाई १६ वर्षको उमेरमा बेल्जियमको दोस्रो डिभिजनको टोली लोमेल एसकेमा पठाउने र उनी १८ वर्ष भएपछि इङ्ग्ल्यान्ड लैजाने सम्झौतालाई अन्तिम रूप दिइरहेका थिए। यद्यपि, अहिले नयाँ सम्झौता भएको बताइन्छ।
सुलिभानले यसअघि सन् २०२३ को कन्काकाफ यू–१५ च्याम्पियनसिप, अमेरिकी यू–१५ च्याम्पियनसिप जितेका थिए। यस क्रममा प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल प्राप्त गरेका थिए।