काठमाडौँ। इटालियन सिरी ‘ए’ क्लब एसी रोमाबाट बर्खास्त भएका प्रशिक्षक जोसे माउरिन्होले साउदी प्रो लिगसँग सहकार्य गर्न अस्वीकार गरेका छन्।
पूर्वखेलकुद पत्रकार फाब्रिजियो रोमानोसँग कुरा गर्दै उनले साउदी क्लब अल शबाबले यस वर्षको शुरूआतमा आफूलाई प्रशिक्षकको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरेको बताएका छन्।
तर, राम्रो सेवा सुविधासहित साउदी क्लबले आफूलाई प्रस्ताव गरेपनि अस्वीकार गरेको उनको दाबी छ। ‘क्रिस्टियानो रोनाल्डोले फुटबलको सन्दर्भमा साउदी जाने ढोका खोलिदिए। मलाई पनि त्यहाँबाट प्रस्ताव आयो। आर्थिक हिसाबले त्यो प्रस्ताव मेरो लागि धेरै महत्त्वपूर्ण थियो। तर, मैले यसलाई अस्वीकार गरेँ। किनभने रोमा र युरोपेली फुटबल मेरो लागि बढी महत्त्वपूर्ण थियो,’ उनले भने।
इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याम छोडेपछि पोर्चुगिज प्रशिक्षक माउरिन्हो सन् २०२१ मा इटालियन सिरी ‘ए’ क्लब एसी रोमामा आबद्ध भएका थिए।
उनको नेतृत्वमा रोमाले सन् २०२२ मा यूईएफए कन्फरेन्स लिग जितेको थियो। यस्तै, गत सिजन यूईएफए युरोपा लिगको फाइनलमा पुगेको थियो। यद्यपि, सिरी ‘ए’ उनको लागि उपलब्धिमूलक रहेन। २० खेल खेलेको रोमाले ८ जित, ७ हार र ५ मा बराबरी खेल्दै २९ अंक जोडेपछि उनलाई गत जनावरीमा रोमाले बर्खास्त गरेको थियो।
सन् २००० देखि प्रशिक्षणमा लागेका उनीसँग प्रिमियर लिगमा चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटनह्याम सम्हालेको अनुभव छ। यस्तै, स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग पनि उनले काम गरेका छन्।
इटालियन क्लब इन्टर मिलान र रोमासँग पनि उनी आबद्ध भइसकेका छन्। अहिले आफू साउदी क्लबसँग नजोडिएपनि भविष्यमा जोडिन सक्ने संकेत उनले गरेका छन्। तर, अहिलेको समयमा आफूले सबैभन्दा राम्रो निर्णय लिनुपर्ने अवस्था रहेको उनले बताए।
‘रोम क्लब छोडेको भोलिपल्ट नै म फेरि शुरू गर्न तयार थिएँ। मलाई काम मनपर्छ र म तयार छु। तर, म गलत छनोट गर्न चाहन्न। मैले धैर्य गर्नुपर्छ। हामी मार्चमा छौँ र सामान्यतया यो महिना केहि हुन गाह्रो छ। त्यसैले मेरो लक्ष्य समरमा फेरि नयाँ शुरू गर्ने हो,’ उनले भने।