काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले अफ्रिकी खेलाडी मेसुके ओलुमोउ र स्टेफन बिनोङलाई अनुबन्ध गरेको छ ।
खुमलटारले मंगलबार फरवार्डद्वय मेसुके र स्टेफनलाई अनुबन्धित गरिएको जनाएको छ ।
दुबैले अघिल्लो सिजनको 'ए' डिभिजन लिग न्युरोड टिम एनआरटीबाट खेलेका थिए ।
यस्तै खुमलटारले अर्का अफ्रिकन मिडफिल्डर थियोफिलस आरोनलाई समेत अनुबन्ध गरिएको जनाएको छ ।
नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिदै गर्दा खुमलटारले तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पछिल्लो समय खुमलटारले खेलाडी अनुबन्धलाई तिब्रता दिएको छ ।
मंगलबार नै खुमलटारले मिडफिल्डर जया गुरुङसहित दुई गोलकिपर देव लिम्बु र चाङ थेबेलाई अनुबन्ध गरिएको जनाएको थियो ।
त्यसअघि खुमलटारले मिडफिल्डर नितिन थापा, फरवार्ड राजिब लोप्चन, मनिष थापा,फरवार्ड रोहित सुब्बा, डिफेन्डर पदम भट्टराई, फरवार्ड श्याम मुर्मुर र एन्जल गुरुङलाई अनुबन्ध गरेको थियो ।
यस्तै खुमलटारले यम प्रसाद गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।