पोखरा । संकटा फुटबल क्लबका कप्तान सुनिल बल २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
पोखरा रंगशालामा शनिबार संकटालाई उपाधि दिलाउन निर्णायक गोल गरेका सुनिल सर्वोत्कृष्ट चुनिएका हुन् ।
फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको थियो ।
सर्वोत्कृष्ट चुनिएका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले स्कुटरको साचो हस्तान्तरण गरे ।
यस्तै प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर, भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर, संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर, संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड र सल्याण खड्की उत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगितामा ४ गोल गरेका संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता चुनिए । धरान एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र सर्वाधिक गोलकर्ताले २५ हजार प्राप्त गरे ।