काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अट्याकिङ मिडफिल्डर प्रिती राईलाई उम्ब्रो नेपालले प्रायोजन गरेको छ ।
उम्ब्रोले प्रितीलाई एक वर्षको लागि प्रायोजन गरिएको जनाएको छ । प्रिती र उम्ब्रोबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उम्ब्रोले प्रितीसँग एक वर्षका लागि ६ लाख बराबरको प्रायोजन गरेको हो ।
सम्झौता अनुसार प्रितीले नगद र खेलकुद सामग्री प्राप्त गर्ने छन् ।
कार्यक्रममा बोल्दै भाटभटेनी होल्डीङ्स कम्पनीका बिजिनेस हेड आलोक जोशीले खेलकुदलाई सहयोग गर्ने क्रममा प्रितीलाई सहयोग गरिएको बताए ।
'विभिन्न स्पोर्ट्समा सहयोग गर्ने क्रममा प्रितीलाई सहयोग गरेका हौँ । यस सहयोगले महिला खेलाडीलाई खेलकुदमा आउन प्रेरित गर्छ भन्ने लागेको छ,' उनले भने ।
प्रितीले प्रायोजन गरेकोमा उम्ब्रोलाई धन्यवाद दिए ।
'विभिन्न आलोचना र हेपाहा सहेर आएको हु । परिवारले सहयोग गर्यो । त्यसैले मलाई उर्जा दियो,' प्रितीले भनिन्, 'उम्ब्रोले सहयोग गरेको धन्यबाद दिन चाहन्छु ।'
काठमाडौंमा आयोजना भएको छैटौं महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि उम्ब्रोले प्रितीलाई प्रायोजन गर्ने घोषणा गरेको थियो ।
उमेर समूहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आएकी प्रिती सिनियर टिममा समेत उस्तै प्रभावशाली प्रदर्शन गरिरहेकी छिन् ।
प्रिती साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपालको टोलीमा समेत रहेकी छिन् ।
प्रितीले गत वर्षको भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।
प्रितीले नेपालको यू-१५ र यू-१८ टोलीको कप्तानी गरिसकेकी छिन् ।
उम्ब्रो विश्व प्रख्यात खेलकुदको ब्राण्ड हो । नेपालमा उम्ब्रोका सामानहरु भाटभटेनी सुपर मार्केटका स्टोरहरुमा पाईन्छन् ।