काठमाडौं । आसन्न सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ११ क्लबले नाम दर्ता गराएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारसम्म ११ क्लबले नाम दर्ता गराएको जनाएको छ ।
'ए' डिभिजन लिगमा १४ क्लब रहेका छन् । एन्फाले भोलि शुक्रबार पुस २२ गतेसम्म क्लब दर्ता गर्ने समय तोकेको छ ।
यस्तै दर्ता गरेका ११ मध्ये १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएको एन्फाले जनाएको छ ।
चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले दर्ता गरेको एन्फाले जनाएको छ ।
पुलिस क्लबले बाहेक दर्ता भएका सबै क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ लिएको एन्फाले जनाएको छ ।
एन्फाले लिगको तयारीका लागि 'ए' डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।
शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।