पोखरा । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।
संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे ।
एपीएफका हरि कार्कीले एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
मेसुकेले ४३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए ।
खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३-० को बनाए ।
७४ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४-१ को जित दिलाए ।
अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।