काठमाडौं । पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका प्रवेश कटुवालले पाएको अवसरलाई राम्रोसँग पूरा गर्ने बताएका छन् ।
राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि एन्फा मिडियासँग कुरा गर्दै कटुवालले पाएको अवसरलाई गुमाउन नचाहेको र राम्रोसँग पूरा गर्ने बताए ।
'मलाई थाहा छ राष्ट्रिय टोली एक चुनौतीपूर्ण काम हो र समयको कमीका कारण पाकिस्तानविरुद्ध खेल्न पनि गाह्रो हुनेछ तर यो त्यस्तो चीज हो जुन म मिस गर्न चाहन्न । म यो काममा अझ राम्रो गर्न चाहन्छु', कटुवालले भने ।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
मछिन्द्रलाई 'ए' डिभिजन लिगको उपाधि दिलाएका प्रशिक्षक कटुवालले बन्द प्रशिक्षणमा ३० खेलाडी डाकेका छन् ।
कटुवालले पाकिस्तानविरुद्धको खेल नेपालका लागि कठिन हुने बताए । तर, पाकिस्तानलाई हराउन चाहेको उनले बताए ।
'हामीलाई थाहा छ पाकिस्तान वर्षौपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किरहेको छ तर तिनीहरूका खेलाडीहरू विदेशमा खेलिरहेका छन्। तिनीहरू हराउन बलियो टोली हो र हामी तिनीहरूलाई हराउन चाहन्छौं,' उनले भने ।