काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले पुराना खेलाडी टिममा भएको भए एएफसी एसियन कप छनोटमा केहि फरक नतिजा आउने बताएका छन् ।
कुवेतमा आयोजना भएको एसियन कप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै कप्तान नवयुगले पुराना खेलाडी भएको भए टिमको प्रदर्शनमा फरक आउने बताएका हुन् ।
'भईरहेको खेलाडीहरु एक्कासी नहुँदा टिममा केहि फरक त परि नै हाल्छ । नयाँ भाइहरुले पनि राम्रो गरेको हो । तर, मेरो विचारमा पुरानो खेलाडी भएको भए केहि फरक हुन्थ्यो जस्तो लाग्छ,' कप्तान नवयुगले भने, 'हामी कठिन ग्रुपमा थियौं । तर, प्रदर्शनको हिसाबमा केहि फरक हुन्थ्यो भन्ने अनुमान गर्न सकिन्छ ।'
नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बिना नेपालले छनोट खेलेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । कप्तान किरण प्रशिक्षण छाडेका खेलाडीको समर्थन गर्दै टिममा सामेल भएनन् ।
नयाँ खेलाडीसहित कुवेत पुगेको नेपाल नेपाल अंक विहीन बनेको थियो । समूह ए मा रहेको नेपाल समूहको पुछारमा समेत रह्यो ।
तर, कप्तान नवयुगले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताए ।
'टिममा प्राय जस्तो नयाँ भाइहरु छ । नयाँ भाइहरुको प्रदर्शन चित्तबुझ्दो नै छ । तर, हामी छनोट हुन सकेनौं,' उनले थपे, 'नयाँ भाइहरुलाई सुरुमा खेल्दा अलि डराएको जस्तो, अफ्ठ्यारो हो की जस्तो भएको थियो । तर, लगातारको ट्रेनिङपछि टिम राम्रो बनेको जस्तो लाग्छ ।'
नवयुगले पछिल्लो विवादबारे आफुले केहि नबोल्ने बताए ।
'पछिल्लो विवादमा मलाई केहि भन्नु छैन तर खेलाडीहरु होटल छाडेको विषयमा उनीहरु आफै चै गएको हैन । खेलाडीलाई प्रशिक्षकले होटल छाडेर जानु भन्ने कुरा चित्तबुझ्दो छैन,' उनले भने ।
नवयुगले आफ्नो प्रशिक्षकसँग आफ्नो कुरा नभएको र प्रशिक्षक आउने नआउने कुरा एन्फाले जानकारी गराउने बताए ।
नेपाली टोली स्वदेश फर्किएपनि अलमुताईरी भने कुवेतमै बसेका छन् ।