काठमाडौं । पोल्यान्डका स्ट्राइकर कति धेरै अब्बल दर्जाका खेलाडी हुन्, त्यो बायर्न म्युनिखलाई भन्दा बढी कसलाई थाहा होला र ? जर्मन बुंडेसलिगामा बायर्नले प्राप्त गरेको पछिल्ला सफलतामा सबैभन्दा ठूलो हात यिनै खेलाडीको रहेको छ । तर पछिल्लो समय खेलाडी र क्लबबीचको सम्बन्ध साह्रै नमज्जासँग चिस्सिएको छ । लेवनडोस्कीले आफू बायर्न छाड्न तयार भएको के बताएको थियो, यी दुई पक्षबीचको सम्बन्ध खराव हुन सुरु भएको थियो, जुन अब पानी बाराबारकै जस्तो स्थिति छ ।
लेवनडोस्कीको पक्षमा रहेकाहरूले भनिरहेका छन्, बायर्नले यी खेलाडीप्रति न्याय नै गर्न सकेन्, सम्मानको कुरा त झन परकै भयो । यति धेरै समय क्लबको सेवा गरेको खेलाडीले अन्यत्र जाने इच्छा व्यक्त गरेपछि त्यसलाई स्वभाविक मान्नु पर्ने यी पक्षको दाबी छ । तर क्लब पक्षकाहरू के भनिरहेका छन् भने खेलाडी भन्दा ठूलो त क्लब हो, कम्तीमा लेवनडोस्कीले सार्वजनिक रूपमा यस्तो घोषणा गर्न अगाडि क्लबसँग छलफल गर्नु पर्ने बताइरहेका छन् ।
अब के त ? यसको उत्तर न त खेलाडीसँग छ, न त क्लबसँग छ । कतारमा हुने विश्वकप अगाडि यो विवाद खेलाडी र उनको देश पोल्यान्डका लागि पक्कै पनि राम्रो रहेको छैन् । पोल्यान्ड विश्वकपको समूह ‘सी’ मा छ र यसमा रहेका अन्य टिममा अर्जेन्टिना, मेक्सिको र साउदी अरेबिया छन् । पोल्यान्डले छनोट चरणमा जत्तिकै राम्रो खेले पनि विश्वकपमा भने त्यसको झल्को दिन प्राय: असफल रहेको छ र यही पृष्ठभूमिमा लेवनडोस्कीको विवादलाई कसैले निको मानिरहेका पनि छैनन् ।
खासमा ३० वर्षीय लेवनडोस्कीले जुनमा हुने नेसन्स लिगका खेलपछि आफ्नो भविष्यबारे यस्तै हुनेछ भनेर बताउने वाचा गरेका थिए । अब त यी खेल पनि सकिए, तर लेवनडोस्की के पनि भन्न सकिरहेका छैनन् । यस्तोमा उनलाई पनि थाहा छैन्, अब के हुन्छ भनेर । यसबीच बायर्नका स्पोर्टिङ डाइरेक्टर हसन सलिहामिडजिचले सबैलाई शान्त रहन र आवश्यक भन्दा बढी नबोल्न भनेका छन् र सायद यसको प्रभाव पनि देखिन थालेको छ ।
लेवनडोस्की आफै केही नरम देखापरेका छन्, अहिले । प्रश्न यहाँनिर के पनि छ भने उनी आफै कता जान चाहन्छन् त ? यसको उत्तर पनि सजिलो छैन् । सायद उनको पहिलो रोजाईको क्लब भनेको बार्सिलोना नै हो । उनी स्पेनी ला लिगामा खेल्न चाहन्छन् । तर उनमा रूचि देखाइरहेको ठूलो क्लब भनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) नै हो । एक प्रकारले धनी पीएसजी उनलाई पुग्ने गरेर अनुबन्ध गर्न पनि तयार जस्तो देखिएको छ ।
यता बायर्न आफै लेवनडोस्की सस्तोमा छाड्न चाहन्न । दुवै पक्षबीच अझै एक वर्षको अनुबन्ध छ । केही थप नयाँ केही भएन् भने उनी अबको सिजन बायर्नमै बस्नेछन् र त्यसपछि विना कुनै मूल्य आफूले चाहेको क्लबमा जान पनि सक्छन् । यो बायर्न आफैलाई भने स्विकार्य छैन् र यसमा क्लबलाई नराम्रोसँग घाटा हुन सक्छ । यो तथ्यमा बायर्न आफै सजग छ । खासमा स्थिति वास्तवमै नाजुक छ र कोही पनि यस्तै हुनेछ भनेर भन्न सकिरहेका छैनन् ।
–एजेन्सीहरूको सहयोगमा ।