काठमाडौं । एएफसी एसियन कप छनोटमा मंगलबार राति नेपालले इन्डोनेसियासँग लज्जास्पद हार व्यहोर्यो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियासँग ७-० गोल अन्तरको हार व्यहोरेको हो । हारसँगै छनोटको समूह 'ए' मा रहेको नेपाल जित विहीन र अंक विहीन बन्यो ।
तर, सुखद पाटो इन्डोनेसियाविरुद्ध नेपालका दुई खेलाडीले डेब्युको अवसर पाए ।
डेब्युको अवसर पाउने खेलाडी शिव गुरुङ र नीरकुमार राई रहे । दुबै सुरुआती-११ मा पर्दै नेपालको लागि पहिलो खेल खेले ।
यी दुई डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या १५ पुगेको छ ।
अल्मुताइरी २०७७ सालको चैतमा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनी नियुक्त भएबाटै नेपालका युवा खेलाडीले मौका पाउदै आएका छन् ।
अल्मुताइरीले डेब्युको अवसर दिएका पहिलो खेलाडी हुन् गौतम श्रेष्ठ र मनिष डाँगी । गत वर्ष इराकविरुद्धको मैत्रीपूर्ण खेलमा दुबैले डेब्यु गरेका थिए ।
अल्मुताइरीले डेब्युको अवसर दिएका खेलाडी को को हुन् त ?
सूची यस्तो छ -
गौत्तम श्रेष्ठ
मनीष डांगी
कमल थापा
सुरज ज्यु ठकुरी
आयुष घलान
नितिन थापा
विशाल श्रेष्ठ
राजन गुरुङ
सुदीप गुरुङ
आकाश बुढा मगर
प्रशान्त अवस्थी
विकास तामाङ
दीप कार्की
शिव गुरुङ
नीर कुमार राई