काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शनका लागि खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् ।
अलमुताईरीले सामाजिक संजालबाट एसियन कपको खराब प्रदर्शनको दोष आफुलाई जाने उल्लेख गर्दै खेलाडीलाई नदिन आग्रह गरेका हुन् ।
'म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,' अलमुताईरीले लेखेका छन् ।
यस्तै अलमुताईरी टिममा केहि सकारात्मक पक्षहरु देखिएको तर नकारात्मक पक्षहरु सुधार गर्नुपर्ने देखिएको उल्लेख गरेका छन् ।
'प्रिय नेपाली समर्थकहरु, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,' उनले लेखेका छन्, 'हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरु अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेल अघि समाधान गर्न आवश्यक छ ।'
कुवेतमा भएको छनोटमा नेपाल अंक विहीन बनेको थियो ।
मंगलबार राति भएको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको थियो ।
समूह ए मा रहेको नेपाल समूहको पुछारमा रह्यो ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।