इलाम । इटहरीमा जारी प्रदेश १ जिल्ला स्तरिय नकाउट फुटबल प्रतियोगितामा इलामलाई हराउँदै धनकुटा सेमीफाइनल प्रवेश गरेको छ ।
इटहरी रंगशालामा आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै धनकुटाको लिग च्याम्पियन देउराली फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।
देउरालीको जितमा योगेश लिम्बु निर्णायक बने । उनले खेलको १३ औं मिनेटमा गरेको गोल नै जितको आधार बन्यो । गोलकर्ता लिम्बु खेलको म्यान अफ दि म्याच हुँदै नगद २ हजार १ सय प्राप्त गरे ।
आइतबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा खोटाङको बाक्सिला फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै झापाको शनिश्चरे फुटबल क्लब समेत सेमीफाइनल पुगेको छ ।
शनिश्चरेका लागि खेलको २५ र ६५ मिनेटमा श्याम मूर्मु, ३० औ मिनेटमा शौरभ लिम्बु र ५० औ मिनेटमा पुजन राईले गोल गरे । बाक्सिलाका प्रशान्त राईले ४२ र बिक्की राईले ४४ औ मिनेटमा गोल गरे । मूर्मु खेलको म्यान अफ दि म्याच घोषित हुँदै २ हजार १ सय प्राप्त गरे ।
जेठ ३० गते हुने पहिलो सेमीफाइनलमा मोतिराम फुटबल क्लब मोरङ र धरान फुटबल क्लब सुनसरी भिड्नेछन् ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजना र इटहरी फुटबल क्लबको संयोजनमा इटहरी रंगशाला भएको खेलमा प्रदेश १ का ११ जिल्लाका लिग च्याम्पियन क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् ।