काठमाडौं । नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको छनोटबाट बन्द प्रशिक्षणमा ४० खेलाडी डाकेका हुन् ।
एन्फाले जेठ २१ गतेबाट यू-२० टिमका लागि खेलाडी छनोट आयोजना गरेको थियो ।
एन्फाले छनोट भएका ४० खेलाडीले सोमबारबाट बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका एन्फाले खेलाडी छनोट गरेको हो ।
साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ ।
त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।
त्यस्तै एएफसी यू-२० छनोटमा नेपाल समूह 'बी' मा परेको छ । खेलाडी छनोटका लागि एन्फाले जिल्ला र क्लबलाई पत्र पठाईसकेको छ ।
नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ ।
यस समूहको छनोट खेल बहराइनमा हुनेछ । समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।
नेपालले भुटानसँग सेप्टेम्बर १० मा खेल्दा १२ सेप्टेम्बरमा कतारसँग खेल्नेछ ।
नेपालले बहराइनसँग सेप्टेम्बर १४ र बंगलादेशसँग अन्तिम खेल सेप्टेम्बर १८ मा खेल्नेछ ।
समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।