काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले कुवेतविरुद्ध हार व्यहोरेपनि खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताएका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतसँग ४-१ ले पराजित भएपछि बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले नतिजा गुमाएपनि प्रदर्शनमा सन्तुष्ट भएको बताएका हुन् ।
'आज हामीले खेल हार्यौं । तर, प्रदर्शन अनुसार हामी सन्तुष्ट छौँ,' खेलपछि किरणले भने ।
घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।
नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।
प्रशिक्षक श्रेष्ठले दोस्रो हाफमा टिम सेटमा समस्या देखिदा गोल खाएको बताए ।
'खेल राम्रो भयो तर दोस्रो हाफमा समस्या हुँदा गोल खान पुग्यौं । तर, खेलाडीले आफुलाई नियन्त्रणमा राखे । खेल राम्रो भयो,' उनले भने, 'हामीले अट्याकमा फोकस गरेका थियौं तर सफल भएनौं ।'
यस्तै सहायक प्रशिक्षक श्रेष्ठले इन्डोनेसियाविरुद्ध सामान्य तरिकाले आफ्नो खेल खेल्ने बताए ।