काठमाडौं । कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।
मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्राएको थियो ।
उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिएको थियो ।
कुवेतविरुद्धको खेलमा नेपालले ४-१ को हार व्यहोरेको छ ।