काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।
यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।
नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।
खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए।
४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।
खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रह्यो।
त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४-१ ले पराजित हुन पुग्यो ।
नेपालले ४० वर्षपछि कुवेतविरुद्ध गोल गरेको हो ।
यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन ।
पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।
कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।