काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछ ।
पहिलो खेल विभागीय डर्बीको रहेको छ । जहाँ पुलिस र एपीएफ भिड्नेछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्न १२ बजे सूरु हुनेछ ।
लिगमा तीन खेल जितेको पुलिस ११ अंक सहित तालिकाको आठौं स्थानमा छ । लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ ।
दिनको दोस्रो खेलमा उपाधि होडमा रहेका मछिन्द्र र थ्री स्टार भिड्नेछन् । दुवै टिम अनुकुल नतिजा निकाल्दै उपाधि होडमा आफुलाई बलियो बनाउने दाउमा हुनेछन् ।
मछिन्द्र १६ अंक तालिकाको दोस्रो स्थानमा छ । थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ ।
कमजोर एपीएफलाई पुलिसको दबाब
सहिद स्मारक ए डिभिजन लिगको पहिलो विभागीय डर्बी सोमबार हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनीक गरेको तालिका अनुसार पहिलो विभागीय डर्बीमा नेपाल पुलिस र शसस्त्र प्रहरी बलको एपीएफ भिड्न लागेका हुन् ।
विभागीय डर्बीमा दुबै टिम महत्वपुर्ण तीन अंक हासिल गर्न चाहन्छन् ।
घरेलु फुटबलमा विभागीय खेलले निकैनै महत्व राख्ने गर्दछ । सोमबार दुबै टिम आफ्नो विभागको इज्जत जोगाउने लक्ष्य सहित खरो रुपमा उत्रनेछन् ।
लिगमा रेलिगेशन जोनको नतिज रहेको एपीएफ पुलिसलाई हराउँदै कम्तिमा तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ पुछारको टोली सरस्वतीभन्दा ४ अंकले माथि छ ।
पुलिस भने शीर्ष ८ मा रहेको छ । उसले लिगमा शीर्ष ६ को लक्ष्य राखेको छ ।
राष्ट्रिय टिमका तीन खेलाडी बोकेको पुलिस एपीएफलाई सहजै हराउने दाउमा छ ।
पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा विभागीय डर्बी निकै महत्वपुर्ण हुने बताउँछन् ।
“विभागीय टिमको खेलले निकै महत्व राख्छ । लिगमा एपीएफ लयमा नहुँदा केहि फाइदा छ । आएको अवसरलाई गुमाउँदैनौ ।” उनी भन्छन् ।
लिगमा तीन खेल जितेको पुलिस ११ अंक सहित तालिकाको आठौं स्थानमा छ । सोमबार पुलिसले दोस्रो पहेलो कार्डका कारण तेज तामाङलाई गुमाउने छ ।
गत सिजनको भेटमा एपीएफले पुलिसलाई घरेलु मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । सोमबार पनि एपीएफ सोहि नतिजा निकाल्न चाहन्छ ।
एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ पुलिसविरुद्ध कम्तिमा अंक नगुमाउने लक्ष्यमा हुनेछन् ।
“हामी अहिले तल हुँदा केहि दबाबमा छौं । पुलिस केहि बलियो छ । खेल निकैनै प्रतिस्पर्धात्मक हुनेछ । कम्तिमा अंक नगुमाउने गरि खेल्छौं ।” उनी भन्छन् ।
पुलिसविरुद्ध एपीएफले आफ्ना स्ट्राइकर आशिष लामालाई मुख्य हतियार बनाउने छ ।
लिगमा ५ गोल गरेका आशिष सर्बाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । सोेमबार एपीएफका सबै खेलाडी पुलिसविरुद्धको खेलमा उपलब्ध हुनेछन् ।
लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ ।
पुलिसविरुद्ध जित हात पारे एपीएफ १३ अंक रहेपनि तालिकामा सुधार गर्नेछ । पुलिस पनि एपीएफलाई हराउँदै पाँचौं स्थानमा उक्लने दाउमा हुनेछ ।
उपाधि होडका थ्रीस्टार र मछिन्द्र
स्टार खेलाडी बोकेर उपाधि होडमा हिडेको मछिन्द्र र ललितपुरको थ्रीस्टार क्लब लिगको नवौं चरणको खेलमा आज (सोमबार) भिड्दैछन् ।
लिगको ५८ औं खेलमा थ्रीस्टार र असनको मछिन्द्र क्लब एक आपसमा भिड्न लागेका हुन् ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोमबारको खेलले लिगको उपाधि होडको बिषयमा धेरै कुरा बोल्ने अनुमान गरिएको छ ।
थ्री स्टारलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा फर्कन चाहन्छ । यता, थ्री स्टार पनि मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
मछिन्द्रलाई पराजित गरे थ्री स्टार हेड टुु हेडका आधारमा शीर्ष स्थानमा पुग्नेछ ।
थ्री स्टार पहिलो पटक लिगको शीर्ष स्थानमा पुग्न प्रयास गर्नेछ ।
थ्री स्टारका तीन खेलाडी चालू सिजन मछिन्द्रमा छन् ।
‘मछिन्द्र अहिले उपाधि होडमा बलियो छ । तर हाम्रो टिमपनि लयमा छ । दुबै टोलीको लागि महत्वपुर्ण रहेको छ । दुबै क्लबले उपाधि होडमा आफुलाई कायम राख्न खेल्नेछौं ।’ थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन् ।
सोमबार थ्री स्टारका पुर्व खेलाडी बुद्ध राज लिम्बु, बिजय धिमाल र रन्जित धिमाल मछिन्द्रबाट खेल्दैछन् । गत सिजन रन्जित धिमालले थ्री स्टारबाट सर्बाधिक ७ गोल गरेका थिए ।
मछिन्द्रपनि बलियो थ्री स्टारलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्नल चाहन्छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएपछि मछिन्द्रलाई शीर्ष स्थानमा पकड बनाउने अवसर आएको हो ।
‘थ्रीस्टार बलियो टिम हो । हाम्रोमा स्टार खेलाडी छन् । दुबैलाई उत्तिकै खेल महत्वपुर्ण छ । थ्री स्टारलाई पराजित गर्दै उपाधि तर्फ लाग्छौ ।’ मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल भन्छन् ।
सोमबार थ्री स्टारविरुद्ध मछिन्द्रका अभिषेक रिजाल र हेमन गुरुङ उपलब्ध हुनेछैनन् । हेमन अष्टे«लिया पुगेका छन् भने अभिषेक आईतबार मात्रै माल्दिभ्स पुुगेका छन् ।
थ्री स्टारविरुद्धको खेल अगाडी कप्तान विराज महर्जन र उपकप्तान सुजल श्रेष्ठ सामान्य घाईते छन् ।
थ्री स्टारले आफ्ना ४ विदेशी खेलाडी मछिन्द्रबिरुद्ध प्रयोग गर्न सक्नेछ ।
साउथ एसियन कोटाका खेलाडी टिममा नराखेको मछिन्द्रले तीन विदेशी खेलाडी मात्र मैदान उतार्नेछ ।