काठमाडौं । लिगको सुरुवाती दुई खेल हेर्दा लाग्थ्यो, च्यासल युथ क्लब लिगको मुख्य दाबेदार हो । संकटा र मछिन्द्रविरुद्ध च्यासलको खेल जसले हेरे, उनीहरु पक्कैपनि ललितपुरे क्लबबाट प्रभावित भएको हुनुपर्छ ।
दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष साहुखलले पनि घरेलु लिग फुटबलमा ९९ गोल गरेका थिए । तर, च्यासलको लय बिस्तारे गुम्न पुग्यो । एकपछि अर्को खराब नतिजाले च्यासल अब रेलिगेशन नजिकको क्षेत्रमा आईपुगेको छ ।
च्यासलले शुक्रबार ब्रिगेड ब्वाईज क्लब (बिबिसी) संग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउसो ३ बजे सुरु हुनेछ ।
च्यासलका प्रशिक्षक बालगोपाल शाहुखल ब्रिगेड ब्वाईजविरुद्धको खेल निकैनै महत्वपुर्ण हुने बताउँछन् । ‘अघिल्ला खेलको नतिजा निकै निराशाजनक रह्यो । यो खेल, त्यो खेल भन्ने छैन । सबै खेल उत्तिकै महत्वपुुर्ण हुन्छ । जित्न खेल्छौं ।’ उनी भन्छन् ।
च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ ।
यता, ब्रिगेड पनि च्यासललाई कमजोर नलिने बताउँँछ । ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन गुरुङ बलियो ब्रिगेडविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘अबका सबै खेल महत्वपूर्ण हुन्छ । च्यासल निकै बलियो टिम हो । उसको आक्रमणलाई रोक्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् ।
ब्रिगेड ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।
शुक्रबारको खेलमा जित निकाल्दै ब्रिगेड आठौं स्थानमा उक्लने दाउमा हुनेछ ।
यता ब्रिगेडविरुद्ध जित निकाल्दै च्यासल नवौं स्थानमा उक्लन चाहन्छ ।
लिगमा ५ गोल गरिसकेका स्ट्राईकर सन्तोष शाहुखल सर्बाधिक गोलकर्ताको दौडमा अगाडी छ ।