काठमाडौं । कारबाहिका कारण दुई खेल प्रतिबन्धमा परेका रन्जन बिष्ट मैदान फर्कदै गर्दा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
मछिन्द्र र मनाङबीचको खेल बराबरीमा सकिए लगत्तै खेलाडी हातपातमा उत्रिएका थिए । एन्फाले विवादमा संलग्न भएको भन्दै रन्जन सहित मनाङका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।
गोलरक्षक अशोक बराल ६, मिडफिल्डर जगजित श्रेष्ठ ५ र रन्जन बिष्ट २ खेलको प्रतिबन्धमा परेका थिए ।
दुई खेलको प्रतिबन्धमा परेका रन्जनले थ्रीस्टार र हिमालयन शेर्पा क्लबसँगको खेल गुमाएका थिए । चालु लिगमा उनले एक गोलमात्र गरेका छन् ।
स्ट्राइकर रन्जनको आगमनसँगै मनाङले अग्रपंक्ति बलियो हुने अनुमान गरेको छ । अघिल्लो खेलमा टिममा समाबेश भएका निशान लिम्बुको प्रदर्शनले मनाङलाई साथ दिनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
राष्ट्रिय टिमका एक मात्रै सदस्य रहेको मनाङ रेलिगेशन जोनमा रहेको सरस्वतीलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । कीर्तिमान आयल निगमको प्रयोजनले मनाङ हौसिएको छ ।
‘उपाधि होडमा रहन सरस्वतीविरुद्ध जितको विकल्प छैन । सरस्वतीलाई कमजोर मान्दैनौं । आफ्नो खेल खेलेर जित हात पार्छाैं ।’ मनाङका प्रशिक्षक धनेश्वर प्रजापति भन्छन् ।
दुई पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका सुरज विश्वकर्माले सरस्वतीविरुद्ध पुनरागमन गर्नेछन् ।
लिगमा ७ खेलमा ३ मा जित, ४ मा बराबरी खेलेको मनाङ १३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
यता, सरस्वती पनि मनाङविरुद्ध कम्तिमा अंक खोस्न चाहन्छ । रेलिगेशन जोनमा रहेको सरस्वती बाकी ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न चाहन्छ ।
प्रशिक्षक प्रदिप नेपाल मनाङविरुद्ध राम्रो खेल्दै अंक खोस्ने उद्धेश्यमा रहेको बताउँछन् ।
‘मनाङविरुद्ध राम्रो गर्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।