काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लब तथा दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।
च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ । ब्रिगेड ८ अंक सहित नवौं स्थानमा रहेको छ ।
रन्जनकाे आगमनमा उत्साहीत मनाङ
कारबाहिका कारण दुई खेल प्रतिबन्धमा परेका रन्जन बिष्ट मैदान फर्कदै गर्दा मनाङले तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
मछिन्द्र र मनाङबीचको खेल बराबरीमा सकिए लगत्तै खेलाडी हातपातमा उत्रिएका थिए । एन्फाले विवादमा संलग्न भएको भन्दै रन्जन सहित मनाङका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।
गोलरक्षक अशोक बराल ६, मिडफिल्डर जगजित श्रेष्ठ ५ र रन्जन बिष्ट २ खेलको प्रतिबन्धमा परेका थिए ।
दुई खेलको प्रतिबन्धमा परेका रन्जनले थ्रीस्टार र हिमालयन शेर्पा क्लबसँगको खेल गुमाएका थिए । चालु लिगमा उनले एक गोलमात्र गरेका छन् ।
स्ट्राइकर रन्जनको आगमनसँगै मनाङले अग्रपंक्ति बलियो हुने अनुमान गरेको छ । अघिल्लो खेलमा टिममा समाबेश भएका निशान लिम्बुको प्रदर्शनले मनाङलाई साथ दिनेछ ।
राष्ट्रिय टिमका एक मात्रै सदस्य रहेको मनाङ रेलिगेशन जोनमा रहेको सरस्वतीलाई पराजित गर्दै उपाधि होडमै रहन चाहन्छ । कीर्तिमान आयल निगमको प्रयोजनले मनाङ हौसिएको छ ।
‘उपाधि होडमा रहन सरस्वतीविरुद्ध जितको विकल्प छैन । सरस्वतीलाई कमजोर मान्दैनौं । आफ्नो खेल खेलेर जित हात पार्छाैं ।’ मनाङका प्रशिक्षक धनेश्वर प्रजापति भन्छन् ।
दुई पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका सुरज विश्वकर्माले सरस्वतीविरुद्ध पुनरागमन गर्नेछन् ।
लिगमा ७ खेलमा ३ मा जित, ४ मा बराबरी खेलेको मनाङ १३ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
यता, सरस्वती पनि मनाङविरुद्ध कम्तिमा अंक खोस्न चाहन्छ । रेलिगेशन जोनमा रहेको सरस्वती बाकी ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न चाहन्छ ।
प्रशिक्षक प्रदिप नेपाल मनाङविरुद्ध राम्रो खेल्दै अंक खोस्ने उद्धेश्यमा रहेको बताउँछन् ।
‘मनाङविरुद्ध राम्रो गर्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् । सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ ।
लय फर्काउने दाउमा च्यासल
लिगको सुरुवाती दुई खेल हेर्दा लाग्थ्यो, च्यासलनै लिगको मुख्य दाबेदार हो । संकटा र मछिन्द्रविरुद्ध च्यासलको खेल जसले हेरे, उनीहरु पक्कैपनि ललितपुरे क्लबबाट प्रभावित भएको हुनुपर्छ ।
दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष साहुखलले पनि घरेलु लिग फुटबलमा ९९ गोल गरेका थिए । तर च्यासलको लय बिस्तारे गुम्न पुग्यो । एकपछि अर्को खराब नतिजाले च्यासल अब रेलिगेशन नजिकको क्षेत्रमा आईपुगेको छ ।
च्यासलले शुक्रबार ब्रिगेड ब्वाईज क्लब (बिबिसी)संग खेल्दैछ ।
च्यासलका प्रशिक्षक बालगोपाल शाहुखल ब्रिगेड ब्वाईजविरुद्धको खेल निकैनै महत्वपुर्ण हुने बताउँछन् । ‘अघिल्ला खेलको नतिजा निकै निराशाजनक रह्यो । यो खेल, त्यो खेल भन्ने छैन । सबै खेल उत्तिकै महत्वपुुर्ण हुन्छ । जित्न खेल्छौं ।’ उनी भन्छन् ।
च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ ।
यता, ब्रिगेड पनि च्यासललाई कमजोर नलिने बताउँँछ । ब्रिगेड ब्वाईजका ब्यवस्थापक अर्विन गुरुङ बलियो ब्रिगेडविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘अबका सबै खेल महत्वपूर्ण हुन्छ । च्यासल निकै बलियो टिम हो । उसको आक्रमणलाई रोक्दै जितको लागि खेल्छौं ।’ उनी भन्छन् ।
ब्रिगेड ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।
शुक्रबारको खेलमा जित निकाल्दै ब्रिगेड आठौं स्थानमा उक्लने दाउमा हुनेछ ।
यता ब्रिगेडविरुद्ध जित निकाल्दै च्यासल नवौं स्थानमा उक्लन चाहन्छ ।
लिगमा ५ गोल गरिसकेका स्ट्राईकर सन्तोष शाहुखल सर्बाधिक गोलकर्ताको दौडमा अगाडी छ ।