काठमाडौं । शहिद स्मारक 'ए' डिभिजिन लिग फुटबलमा आज (सोमबार) हुने पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ब्रिगेड र संकटाबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
लिगको ६ खेलमा संकटाले २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । बिबिसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।
गत सिजनको लिगमा अप्रत्यासित नतिजा निकालेको संकटा यसपटक सोही प्रर्दशन र नतिजा दोहोर्याउन सकेको छैन ।
संकटा सातौं चरणको खेलमा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ ।
संकटा क्लबका प्रशिक्षक विजय महर्जन बलियो विपक्षीसँग तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘बिबिसी बलियो टिम छ । सेट टिम छ । टिममा पनि सुधार हुँदै गएको छ । बिबिसीविरुद्ध जित्नको लागि खेल्छौं ।’ विजय भन्छन् ।
सोमबार संकटाका नियमित कप्तान रवि सिलवाल मैदान फर्कने छन् । चोटका कारण करिब ३ साता उनी मैदान बाहिर रहेका थिए । संकटाका डिफेन्डर बिष्णु सुनुवार भने टिम बाहिर रहनेछन् ।
उनी दोहोरो पहेलो कार्डका कारण बिबिसीविरुद्ध खेल्न पाउने छैनन् ।
पहिलो खेलमा च्यासललाई २–० को नतिजा सुम्पिएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको संकटाले चौथो खेलमा पुलिसलाई २–१ को नतिजा सुम्पिएको थियो ।
पाचौ खेलमा विभागीय एपीएफलाई ४–२ ले पराजित गरेको संकटा अघिल्लो खेलमा आर्मी क्लबलाई १–१ को बराबरीमा रोक्न सफल भएको थियो ।
गत सिजन ब्रिगेड र संकटाले बराबरी खेल्दै अंक बाडेका थिए ।
बिबिसी क्लबका ब्यवस्थापक अर्विन गुरुङ संकटाविरुद्ध महत्वपुर्ण तीन अंकका लागिनै भिड्ने बताउँछन् । ‘लिगमा हामी भन्दा तल रहेका टिमले अंक बटुल्दै आउँदा हामीलाई केहि समस्या हुन सक्छ । त्यसैले पनि संकटाविरुद्ध तीन अंकको लागि खेल्नेछौं । खेलाडी तयार छन् ।’ उनी भन्छन् ।
राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बिबिसीले सोमबार चार विदेशी खेलाडी मैदानमा उतार्न सक्नेछ । बिबिसीले आईतबार मात्रै भारतीय डिफेन्डर टिममा ल्याएको छ ।
पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित बिबिसीले दोस्रो खेलमा फ्रेण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा मनाङसँग १–० ले पराजित भएपनि चौथो खेलमा हिमालयन शेर्पा क्लबलाई हराउन सफल रह्यो ।
पाँचौ खेलमा थ्रीस्टारसँग ३–० ले पराजित बिबिसीले पछिल्लो खेलमा सरस्वती युथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।