काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब पराजित भएको छ ।
शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २-० गोल अन्तरले पराजित भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।
बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले पहिलो मिनेटमै गोल खाएको थियो ।
खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १-० को अग्रता बनाएको थियो । त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २-० को जित दिलाए ।
मछिन्द्रले भने खेलमा पाएको अवसरलाई सदुपयोग गर्न सकेन । मछिन्द्रले दुवै हाफमा केहि गोलको उत्कृष्ट अवसर भने सिर्जना गरेको थियो ।
मछिन्द्रलाई हराएरसँगै शेर्पाले लिगमा पहिलो जित निकालेको छ । जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । शेर्पाले यस अघि दुई खेलमा हार व्यहोर्दा ४ बराबरी खेलेको थियो ।
मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ ।
यस अघि मछिन्द्रले चार खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । शेर्पासँगको हारसँगै मछिन्द्रको उपाधि होडमा समेत धक्का लागेको छ ।
खेलमा शेर्पाका विजय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
के भन्छन् प्रशिक्षक ?
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले शेर्पालाई सहज रुपमा लग्दा समस्या भएको बताए ।
'पाएको अवसर सदुपयोग समेत गर्न सकेनौ । दुई गोल खाएपछि खेलमा फर्कन गाह्रो भयो ।' खेलपछि कट्वालले भने ।
उनले दोस्रो हाफमा पाएको अवसर गुमाउँदा खेल हार्न पुगेको बताए ।
'उनीहरु आनन्दले खेले । अझ मछिन्द्र भन्दा राम्रोसंग खेले ।' उनले भने, 'देबेन्द्र (तामाङ) नहुँदा टिममा समस्या भयो । पिटर (सेगुन)ले मनले खेले जस्तो देखिएन ।'
उनले टिममा कुनै समस्या नभएको बताउँदे तीन जना मुख्य खेलाडी निलम्बनमा हुँदा समस्या भएको बताए ।
'खेलाडी फुकुवापछि अब अर्को खेलमा फर्किन्छौ ।' उनले भने ।
शेर्पा क्लबका प्रशिक्षक सञ्जिव बुढाथोकीले जितको श्रेय खेलाडीलाई दिए ।
'खेलाडीले निकै राम्रो प्रर्दशन गरे । जितको श्रेय खेलाडीलाई जान्छ ।' उनले भने ।
उनले निरन्तरले खराब नतिजाले टिममाथि दबाब भएको बताउँदै पहिलो हाफमा लिएको अग्रताले खेल जित्न सहज भएको बताए ।
'सुरुमै ठुला टिमसंग खेल्न पर्यो ।' उनले भने, 'अब थ्री स्टारसंग गाह्रो होला । तर टिमको लक्ष्य शीर्ष चारमा पर्नेनै हो ।'
शेर्पा प्लेईङ सेट -
किशोर गिरि, आशिष गुरुङ,मान बहादुर तामाङ, निरज बस्नेत, रबि थापा मगर,विनोद गुरुङ, कमल थापा मगर,सुरज हमाल, त्रिदेब गुरुङ,उल्रीच सीवी, विजय श्रेष्ठ
मछिन्द्र प्लेईङ सेट-
विशाल श्रेष्ठ, रंजित धिमाल, पिटर सेगुन,बिराज महर्जन, विशाल राई, आन्द्रेस निया, योगेश गुरुङ, अविशेक रिजाल, सुजल श्रेष्ठ,रेजिन सुब्बा, सोमिडे एडिलाजा