काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।
एपीएफविरुद्ध बल पोजिसनमा एकतर्फी पटक बनाएको च्यासलले पाएको अवसर गुमाउँदा एक अंकमा चित्त बुझाएको हो । एपीएफले केहि गोलको अवसर खरे फालेको थियो ।
खेलको १६ औं मिनेटमा नबिन लामाको कर्नरमा आएको बलमा एपीएफका राजन गुरुङको उत्कृष्ट हेड च्यासलका गोलरक्षक एलेन न्यौपानेले पन्च गर्दै गोल हुनबाट बचाए ।
खेलको २० औं २० मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमायो । सुनिल खड्काले एक डिफेन्डरलाई बिट गरेपनि वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । डिबक्स भित्रबाट हानेको उनको प्रहार एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले बचाए ।
लगत्तै २५ औं मिनेटमा च्यासलका अमिर श्रेष्ठले डिबक्स भित्रबाट हानेको सशक्त प्रहार एपीएफका गोलरक्षक अमृतले पन्च गर्दै बाहिर पठाए ।
खेलको ३८ औं मिनेटमा एपिएफका रबि थिङको प्रहार च्यासलका गोलरक्षक एलेनले बचाए । यस्तै ५४ मिनेटमा युवराज खड्काको क्रसमा राजिब लोप्चनको हेड पनि एलेनले पन्च गर्दै गोल हुनबाट जोगाएका थिए ।
एपीएफसँगको बराबरीसँगै च्यासलले अंक तालिका सुधारको अवसर गुमाएको छ । ६ खेलमा ६ अंक जोडेको च्यासल लिगको दशौँ स्थानमा रहेको छ ।
यस्तै एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
के भन्छन् त प्रशिक्षक ?
एपीएफसँग बराबरीमा रोकिएपछि च्यासलका प्रशिक्षक बाल गोपाल शाहुखलले पाएको मौकामा चुक्दा बराबरीमा रोकिएको बताए ।
'समग्रमा खेल राम्रो भयो । तर, नतिजा राम्रो भएन । पाएको मौका सदुपयोग भएन । लामो बलमा एपीएफले दबाब दियो । मौका गुमाउदा गार्हो भयो,' उनले भने ।
यस्तै उनले रेफ्रीको निर्णयमा समेत सन्तुष्ट व्यक्त गरे ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ बराबरीमा खुसी देखिए ।
'च्यासल बलियो हुँदा पुरै नयाँ खेलाडीलाई अवसर दिएको थिए । युवा खेलाडीले राम्रो खेले । काउन्टरमा खेल्यौं,' उनले भने, 'आज हार्न नहुने थियो । बराबर गर्यौं । खुसी छु । रणनीति अनुसार सफल भयौं ।'
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने, गौरव बुढाथोकी, हेमन्त थापा, सन्तोष शाहुखल, छिरिङ गुरुङ, नितिन थापा, अविशेक लिम्बु, ताइगा नाकामुरा,अमिर श्रेष्ठ, सुनिल खड्का, बिक्रम लिम्बु
एपीएफ प्लेईङ सेट -
अमृत चौधरी, विरेन्द्र प्रकाश यादव,नविन लामा, प्रकाश पुन,सन्तोष कटुवाल, राजन गुरुङ, बुद्धिमान राई, विश्वास उदास,राजिब लोप्चन, रबि थिङ, युवराज खड्का