काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा एनआरटीले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा दर्शनले निर्णायक गोल गरे । डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो ।
एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन ।
खेलको ३७ औं मिनेटमा डिबक्स भित्रबाट पुलिसका सुमन लामाको कडा प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले पन्च गर्दै गोलको खडेरी टारेका थिए ।
त्यसअघि खेलको २५ औं मिनेटमा पुलिसका लेफ्ट ब्याक रबिन श्रेष्ठ चोटका कारण मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अन्जन राई मैदान छिरेका थिए ।
खेलको ४८ औं मिनेटमा पुलिसका मान बहादुर परियारको हेड बल एनआरटीका मिडफिल्डर एरिक बिष्टले गोललाइनबाट क्लिएर गरेका थिए ।
यस्तै खेलको अतिरिक्त समयमा पुलिसका अन्जन राईले डिबक्स बाहिरबाट हानेको लामो प्रहार क्रसबारमा लागेर फर्किदा पुलिस बराबरी गर्न चुक्यो ।
एनआरटीले पनि केहि अवसर खेर फालेको थियो । खेलको ७८ औं मिनेटमा राजेश परियारले डिबक्स भित्रबाट हानेको कडा प्रहार पुलिस गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ ।
पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापाले खेलाडीले सोचेको जस्तो खेल्न नसकेको बताए ।
'हामी ३ अंकको लागि आएका थियौं । सोचे जस्तो खेल भएन । खेलाडीले सोचे जस्तो खेलेनन् । मुख्य खेलाडीले सोचे जस्तो राम्रो नखेल्दा गाह्रो भयो,' उनले भने, 'एनआरटी राम्रो टिम हैन । एनआरटीले राम्रो गरेर जितेको हैन । हामीले नराम्रो खेलेर हारेको हौं ।'
जितपछि एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले पुलिसको खेल पहिलेको जस्तो उत्कृष्ट नहुदा टिमलाई फाइदा पुगेको बताए ।
'मुख्य कुरा तीन अंक आयो । पुलिसले नराम्रो खेल्दा सहज भयो,' श्रेष्ठले भने, 'पुलिसको खेल पहिले जस्तो नहुँदा फाइदा भयो । तर, हामीले ट्रेनिङ अनुसार खेल्न सकेनौं । अर्को खेलमा राम्रो खेल्नेछौं ।'
एनआरटी प्लेईङ सेट -
एरिक बिष्ट, विक्रम धिमाल, प्रकाश बुढाथोकी,अजित प्रजापति, अनिल धामी, सकल रेग्मी, दर्शन गुरुङ, सनम लिम्बु, जुनियर निकेनगुए, जोर्डन ओवोना, अशोक थापा
नेपाल पुलिस प्लेईङ सेट -
अजित भण्डारी, मान बहादुर परियार,निर कुमार राई,शत्रुधन चौधरी, सुमन लामा, तेज तामाङ,भरत शाह, प्रवेश कुँवर,सुमन सुवेदी, रबिन श्रेष्ठ, हेम तामाङ