काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगका पाँचौं चरणका खेलहरु समाप्त भईसकेको छ ।
तर, लिगको पुछारमा रहेको सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । उसले चौथो खेलमा आएर मात्रै गोलको खाता खेलेको थियो ।
यथास्थितीमा अगाडी बढेमा सरस्वती रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । तर, उसका प्रशिक्षक भने अझै टिम रेलिगेशनमा नपर्ने ठोकुवा गर्छन् ।
रेलिगेशन जोनमा रहेका सरस्वतीले आईतबार ब्रिगेड व्वाईज क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगको छैठौ खेलमा समान स्तरको टिम पाएको सरस्वती पहिलो जित निकाल्ने दाउमा छ ।
प्रशिक्षक प्रदिप नेपाल ५ खेलमा पराजित भएपछि टिम दबाबमा रहेका कारण ब्रिगेडविरुद्ध जितको विकल्प नभएको बताउँछन् ।
‘लगातार ५ खेल गुमाईसकेका छौं । अब भने दबाब छ, खेल निकैनै महत्वपूर्ण छ । स्पष्ट तीन अंकका लागि खेल्छौ।’ उनी भन्छन् ।
लिगमा सुरुवाती पाँचै खेल गुमाउँदा सरस्वतीले १० गोल ब्यहोरेको छ । र मात्र एक गोल गरेको छ । सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–०, दोस्रो खेलमा जावलाखेलसँग १–०, पुलिससँग २–०, चौथो खेलमा एपीएफसँग २–१ र अन्तिम खेलमा आर्मीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
अन्तिम खेलमा आर्मीसंग उत्कृष्ट खेल प्रर्दशन गरेको सरस्वतीका प्रशिक्षक नेपालले टिम लयमा आएको कारण ब्रिगेडविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने बताए ।
गत सिजनको भेटमा सरस्वतीले ब्रिगेड विरुद्ध २–१ ले हराएको थियो ।
यता, व्रिगेड गत सिजनमा ब्यहोरेको हारका बदला लिने दाउमा छ ।
लिगमा सरस्वतीलाई पराजित गर्दै ब्रिगेडले तेस्रो जित निकाल्ने योजना बनाएको छ ।
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङ सरस्वतीविरुद्धको खेल निकैनै महत्वपुर्ण रहेकाले जित्नका लागि खेल्ने बताउँछन् ।
‘सरस्वतीविरुद्ध निकैनै महत्वपुर्ण खेल हुँदैछ । जित्नका लागि खेल्नेछौं ।’ अर्विन भन्छन् ।
राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड आईतबार भने दुई विदेशी खेलाडी टिममा थप्नेछ ।
सबै क्लबबाट विदेशी कोटाका खेलाडी उत्रिदा ब्रिगेडले भिषा प्रक्रियाका कारण छैठौ खेलमा मात्र विदेशी खेलाडी उतार्न लागेको हो ।
ब्रिगेडले यसअघि एक मात्रै विदेशी खेलाडी खेलाउँदै आएको थियो ।
उसका डिफेन्डर दिपेन्द्र राज सिंहले भने सरस्वतीविरुद्धको खेल गुमाउने छन् । अन्तिम खेलमा थ्रीस्टारका अशोक खवासलाई खराब फल गरेपछि उनले रातो कार्ड खाएका थिए ।
फ्रेण्ड्स र हिमालयन शेर्पालाई पराजित गरेको ब्रिगेड एक खेल कम खेल्दै तालिकको आठौं स्थानमा रहेको छ । जित निकालेको खण्डमा ब्रिगेड पाँचौं स्थानमा उक्लिने छ ।