काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुर डर्बीमा थ्री स्टार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको छैटौं चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिगमा थ्री स्टारले तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको छ ।
यस्तै फ्रेण्ड्स भने रेलिगेशन जोनमा रहेको छ । उसले २ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । एक खेल कम खेलेका थ्री स्टार चौथो स्थानमा छ । फ्रेण्ड्स १३ औं स्थानमा छ ।
छैटौं खेलमा जित निकाल्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारलाई छ । तीन अंक हासिल गरेमा फ्रेण्ड्स भने आठौं स्थानमा उक्लिनेछ ।
दुबै टिम स्पष्ट तीन अंकका लागि खेल्दैछन् । थ्री स्टार फ्रेण्ड्सलाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यस्तै फ्रेण्ड्स भने लगातार दोस्रो अंक खोस्ने दाउमा छ ।
थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी अबका सम्पुर्ण खेल निकै महत्वपुर्ण र प्रतिस्पर्धात्मक हुने बताउँछन् ।
‘अवका सबै खेल निकैनै महत्वपूर्ण छ । जित्नकै लागि खेल्छौं ।’ उनी भन्छन् ।
लिग उपाधि जित्ने लक्ष्य सहित होमिएको थ्री स्टारले बिभागीय नेपाल पुलिसलाई १–०, एपीएफलाई २–० र ब्रिगेड ब्वाईज क्लबलाई ३–० ले पराजित गरेको थियो ।
यस्तै, जावलाखेलसँग गोल रहित बराबरीमा खेल टुंगाएको थियो भने बिभागीय त्रिभुवन आर्मीसँग २–० को हार ब्यहोरेको थियो ।
प्रतियोगिताको १० अंक जोडेको थ्रीस्टार तालिकाको चौथो स्थानमा रहेको छ ।
गत सिजन भएको ललितपुर डर्बीमा थ्री स्टारले २–१ ले बाजी मारेको थियो ।
गत सिजन फ्रेण्ड्सविरुद्ध खेलेका एलन न्यौपाने, निराजन खड्का, विजय धिमाल, बिष्णु सुनुवार, पिटर सेगुन, रन्जित धिमाल, सुनिल बल, अजयी मार्टिन, रञ्जन बिष्ट र बुद्धराज लिम्बु भने थ्री स्टारमा देखिने छैनन् ।
फ्रेण्ड्स पनि थ्री स्टारलाई हराउने दाउमा रहेको छ । फ्रेण्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ टिम सेट हुँदै गएकाले थ्री स्टारलाई पराजित गर्ने सकिने बताउँछन् ।
‘थ्रीस्टार पहिले जस्तो छैन । हाम्रो टिम निकै सुधारिँदै गएको छ । जित्नैपर्ने दबाब पनि छ । थ्रीस्टारलाई पराजित गर्न खेल्छौं ।’ उनी भन्छन् ।
थ्री स्टारका प्रशिक्षक केसी भने अग्रपङ्ती निकै बलियो हुँदै गएकाले फ्रेण्ड्सविरुद्ध धेरै गोल निस्कनेमा आशाबादी भएको बताउँछन् ।
लिगमा २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ । हिमालयन शेर्पासँग गोलरहित बराबर र मनाङसँग १–१ को बराबरी गरेको फ्रेण्ड्स भने मछिन्द्रसँग ३–०, आर्मीसँग २–१ र ब्रिगेड ब्वाईजसँग २–० ले पराजित भएको थियो ।