काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ ।
ललितपुरे डर्बीमा थ्री स्टार र फ्रेन्ड्स तथा अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
दिनको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स मैदान उत्रनेछन् ।
दशरथ रंगशालामा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा पुछारमा रहेको टिम सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । ब्रिगेड भने नयाँ विदेशी खेलाडी आईतबारको खेलमा उतार्ने योजनामा छ ।
ललितपुरे डर्बीमा थ्री स्टार र फ्रेन्ड्स
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुर डर्बीमा थ्री स्टार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगको छैटौं चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिगमा थ्री स्टारले तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको छ ।
यस्तै फ्रेण्ड्स भने रेलिगेशन जोनमा रहेको छ । उसले २ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । एक खेल कम खेलेका थ्री स्टार चौथो स्थानमा छ । फ्रेण्ड्स १३ औं स्थानमा छ ।
छैटौं खेलमा जित निकाल्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारलाई छ । तीन अंक हासिल गरेमा फ्रेण्ड्स भने आठौं स्थानमा उक्लिनेछ ।
दुबै टिम स्पष्ट तीन अंकका लागि खेल्दैछन् । थ्री स्टार फ्रेण्ड्सलाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यस्तै फ्रेण्ड्स भने लगातार दोस्रो अंक खोस्ने दाउमा छ ।
थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी अबका सम्पुर्ण खेल निकै महत्वपुर्ण र प्रतिस्पर्धात्मक हुने बताउँछन् ।
‘अवका सबै खेल निकैनै महत्वपूर्ण छ । जित्नकै लागि खेल्छौं ।’ उनी भन्छन् ।
लिग उपाधि जित्ने लक्ष्य सहित होमिएको थ्री स्टारले बिभागीय नेपाल पुलिसलाई १–०, एपीएफलाई २–० र ब्रिगेड ब्वाईज क्लबलाई ३–० ले पराजित गरेको थियो ।
यस्तै, जावलाखेलसँग गोल रहित बराबरीमा खेल टुंगाएको थियो भने बिभागीय त्रिभुवन आर्मीसँग २–० को हार ब्यहोरेको थियो ।
प्रतियोगिताको १० अंक जोडेको थ्रीस्टार तालिकाको चौथो स्थानमा रहेको छ ।
गत सिजन भएको ललितपुर डर्बीमा थ्री स्टारले २–१ ले बाजी मारेको थियो ।
गत सिजन फ्रेण्ड्सविरुद्ध खेलेका एलन न्यौपाने, निराजन खड्का, विजय धिमाल, बिष्णु सुनुवार, पिटर सेगुन, रन्जित धिमाल, सुनिल बल, अजयी मार्टिन, रञ्जन बिष्ट र बुद्धराज लिम्बु भने थ्री स्टारमा देखिने छैनन् ।
फ्रेण्ड्स पनि थ्री स्टारलाई हराउने दाउमा रहेको छ । फ्रेण्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ टिम सेट हुँदै गएकाले थ्री स्टारलाई पराजित गर्ने सकिने बताउँछन् ।
‘थ्रीस्टार पहिले जस्तो छैन । हाम्रो टिम निकै सुधारिँदै गएको छ । जित्नैपर्ने दबाब पनि छ । थ्रीस्टारलाई पराजित गर्न खेल्छौं ।’ उनी भन्छन् ।
थ्री स्टारका प्रशिक्षक केसी भने अग्रपङ्ती निकै बलियो हुँदै गएकाले फ्रेण्ड्सविरुद्ध धेरै गोल निस्कनेमा आशाबादी भएको बताउँछन् ।
लिगमा २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ । हिमालयन शेर्पासँग गोलरहित बराबर र मनाङसँग १–१ को बराबरी गरेको फ्रेण्ड्स भने मछिन्द्रसँग ३–०, आर्मीसँग २–१ र ब्रिगेड ब्वाईजसँग २–० ले पराजित भएको थियो ।
पहिलो अंक जोड्ने दाउमा सरस्वती
लिगका पाचौ चरणका खेलहरु समाप्त भैसकेका छन् । तर लिगको पुछारमा रहेको सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । उसले चौंथो खेलमा आएर मात्रै गोलको खाता खेलेको थियो ।
यथास्थितीमा अगाडी बढेमा सरस्वती रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । तर उसका प्रशिक्षक भने अझै टिम रेलिगेशनमा नपर्ने ठोकुवा गर्छन् ।
रेलिगेशन जोनमा रहेका सरस्वतीले आईतबार ब्रिगेड व्वाईज क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगको छैटौं खेलमा समान स्तरको टिम पाएको सरस्वती पहिलो जित निकाल्ने दाउमा छ ।
प्रशिक्षक प्रदिप नेपाल ५ खेलमा पराजित भएपछि टिम दबाबमा रहेका कारण ब्रिगेडविरुद्ध जितको विकल्प नभएको बताउँछन् ।
‘लगातार ५ खेल गुमाईसकेका छौं । अब भने दबाब छ, खेल निकैनै महत्वपूर्ण छ । स्पष्ट तीन अंकका लागि खेल्छौ।’ उनी भन्छन् ।
लिगमा सुरुवाती पाँचै खेल गुमाउँदा सरस्वतीले १० गोल ब्यहोरेको छ । र मात्र एक गोल गरेको छ । सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–०, दोस्रो खेलमा जावलाखेलसँग १–०, पुलिससँग २–०, चौथो खेलमा एपीएफसँग २–१ र अन्तिम खेलमा आर्मीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
अन्तिम खेलमा आर्मीसंग उत्कृष्ट खेल प्रर्दशन गरेको सरस्वतीका प्रशिक्षक नेपालले टिम लयमा आएको कारण ब्रिगेडविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने बताए ।
गत सिजनको भेटमा सरस्वतीले ब्रिगेड विरुद्ध २–१ ले हराएको थियो ।
यता, व्रिगेड गत सिजनमा ब्यहोरेको हारका बदला लिने दाउमा छ ।
लिगमा सरस्वतीलाई पराजित गर्दै ब्रिगेडले तेस्रो जित निकाल्ने योजना बनाएको छ ।
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङ सरस्वतीविरुद्धको खेल निकैनै महत्वपुर्ण रहेकाले जित्नका लागि खेल्ने बताउँछन् ।
‘सरस्वतीविरुद्ध निकैनै महत्वपुर्ण खेल हुँदैछ । जित्नका लागि खेल्नेछौं ।’ अर्विन भन्छन् ।
राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड आईतबार भने दुई विदेशी खेलाडी टिममा थप्नेछ ।
सबै क्लबबाट विदेशी कोटाका खेलाडी उत्रिदा ब्रिगेडले भिषा प्रक्रियाका कारण छैठौ खेलमा मात्र विदेशी खेलाडी उतार्न लागेको हो ।
ब्रिगेडले यसअघि एक मात्रै विदेशी खेलाडी खेलाउँदै आएको थियो ।
उसका डिफेन्डर दिपेन्द्र राज सिंहले भने सरस्वतीविरुद्धको खेल गुमाउने छन् । अन्तिम खेलमा थ्रीस्टारका अशोक खवासलाई खराब फल गरेपछि उनले रातो कार्ड खाएका थिए ।
फ्रेण्ड्स र हिमालयन शेर्पालाई पराजित गरेको ब्रिगेड एक खेल कम खेल्दै तालिकको आठौं स्थानमा रहेको छ । जित निकालेको खण्डमा ब्रिगेड पाँचौं स्थानमा उक्लिने छ ।