काठमाडौं । महत्वपूर्ण खेलाडीले टिम छाडेपछि दबाबमा आएको मनाङ फेरी अर्काे तनावमा छ । मछिन्द्रविरुद्व अघिल्लो खेलमा भएको विवादले उसका केही खेलाडी अखिल नेपाल फुटबल संघ एन्फाको प्रतिबन्धमा परेका छन् ।
गत सिजन लिग जिताउने सात खेलाडीले टिम छाडेर मछिन्द्र लागेपछि मनाङ मनोबैज्ञानिक रुपमा दबाबमा छ ।
यसपटक निकै मेहनतले औसत टिम तयार बनाएपनि पछिल्लो कारबाहीले मनाङलाई गम्भिर असर पारेको छ ।
शनिबार ए डिभिजन लिगको छैटौं चरणको खेलमा मनाङले हिमायनल शेर्पा क्लबको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
शनिबार मनाङले शेर्पाविरुद्ध आफ्ना तीन खेलाडी गुमाउने छ ।
यस्तै एक खेलाडी भने दोहोरो पहेलो कार्डका कारण शेर्पाविरुद्ध मैदान बाहिर हुनेछन् ।
अन्तिम खेलमा मनाङ र मछिन्द्रले २–२ को बराबरी खेलेका थिए ।
तर खेलको ह्विसल बजे लगत्तै मैदानमा दुवै क्लबका खेलाडीबीच हातपात सुरु भएपछि एन्फाले मनाङका जगजित श्रेष्ठलाई पाँच, अशोक बराललाई ६ र रन्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।
दोहोरो पहेलो कार्डको कारण डिफेन्डर आदित्य चौधरीले शेर्पाविरुद्वको खेल गुमाउने पक्का छ ।
मनाङले नयाँ अनुहारलाई मौका दिने तयारी गरेको छ ।
मनाङ मस्र्याङदी हेरिरहेका धनेश्वर प्रजापति शेपालाई सामान्य टिम नसोचेर खेल्ने बताउँछन् ।
‘अघिल्लो खेलमा फ्रेण्ड्सलाई सामान्य सोच्दा बराबरीमा चित्त बुझाउन पुग्यौं । शेर्पालाई सामान्य सोच्ने गल्ती गर्दैनौ । केही खेलाडीको प्रतिबन्धले गाह्रो हुन्छ । तर तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
लिगमा ३ जित र दुई खेलमा बराबर नतिजा निकालेको मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
गत सिजनको भेटमा मनाङले शेर्पालाई २–१ ले हराएको थियो ।
तर गत सिजन गोल गर्ने तीनै खेलाडी शनिबार दुबै टिममा हुने छैनन् ।
बिशाल मछिन्द्र पुगेका छन् भने ओलावाले हाल साउदी अरेबियाको लिगमा ब्यस्त छन् ।
शेर्पा क्लबमै रहेका विश्वास घुँडाको सल्यक्रियाको कारण लिगका बाँकी सबै खेल गुमाउने छन् ।
चार खेलाडीको अनुपस्थितिमा शेर्पाले मनाङलाई रोक्ने रणनीति बनाएकाे छ ।
शेर्पा ३ खेलाडी नभएको फाइदा उठाउने दाउमा छ ।
बलियो मनाङविरुद्ध शेर्पाका प्रशिक्षक संजिब बुढाथोकी आक्रामक रुपमा प्रस्तुत बताउँछन् ।
‘मनाङ बलियो टिम हो । उसलाई जित्छौ भन्न सकिदैन । तर प्रयास गछौं ।’ पहिलो पटक शेर्पा हेरिरहेका बुढाथोकी भन्छन् ।
अन्तिम खेलमा दोस्रो पहेलो कार्डका कारण खेल गुमाएका निरज बस्नेत र आशिष गुरुङ भने मनाङविरुद्ध मैदान उत्रनेछन् ।
लिगको तेस्रो खेलमा महत्वपुर्ण आफ्ना स्ट्राइकर विश्वासलाई गुमाएको शेर्पाले इजिप्टका मिडफिल्डर मोहम्मद अप्दुल्लाह मनाङविरुद्व खेलाउनेछ ।
चोटकै कारण उनी फ्रेण्ड्सविरुद्व ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इजिप्टका खेलाडी पहिलो पटक लिग खेल्न नेपाल आएका हुन् ।
शेर्पा तीन बराबरी र दुई हारले ३ अंक जोडेको छ । मनाङविरुद्ध जित निकाले शेर्पा सातौ स्थानमा उक्नले छ ।
शेर्पाविरुद्ध जित निकाले मनाङ पुनः एक पटक लिगको शीर्ष स्थानमा उक्लने छ ।