काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब र मछिन्द्र लिगमा अपराजित छन् । प्रतियोगिताको पाँचौं चरणका खेल सकिदा दुबै क्लबले हारेका छैनन् । तर दुबै टिमले शतप्रतिशत जित निकाल्न पनि सकेका छैनन् ।
शनिबार यीनै दुई टिम लिगको छैटौं चरणमा भिड्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा अपरान्ह १२ बजे सुरु हुनेछ ।
लिगमा मछिन्द्रले ३ खेलमा जित र २ मा बराबर गरेको छ । जावलाखेलले २ खेलमा जित र ३ खेलमा बराबरी गरेको छ ।
पहिलो पटक लिग जित्ने योजना बनाएको मछिन्द्रले जावलाखेल युथविरुद्ध आफ्ना महत्वपूर्ण तीन खेलाडी गुमाउने छ ।
गत मंगलबार मनाङविरुद्वको खेल सकिए लगत्तै विवादमा उत्रिएका स्ट्राईकर दिपक राई, डिफेन्डर देबेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन् ।
तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन् ।
मुख्य खेलाडी कारबाहीमा पर्दा जावलाखेलविरुद्व मछिन्द्र दबाबमा हुनेछ । प्लईङ सेटका खेलाडी गुमाउँदा मछिन्द्रले बेन्चको खेलाडी उपयोग गर्नेछ ।
प्रशिक्षक प्रवेश कटुवाल केही खेलाडीको प्रतिबन्धका बाबजुद टिम तीन अंकका लागि खेल्न तयार भएको बताउँछन् ।
‘केहि महत्वपुर्ण खेलाडी प्रतिबन्धमा परेका छन् । तर पनि तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
मछिन्द्र १० अंकका साथ तालिकाको चौथो स्थानमा छ । गत सिजन गरेको खराव प्रदर्शनका कारण मछिन्द्रले एक ऋण अंक बोकेर लिगको सुरुवात गरेको थियो ।
मछिन्द्रका प्रशिक्षक कटुवालले झगडा पर्दा खेलाडीलाई छुट्याउन गएका खेलाडीलाईनै कारबाहि गर्दा टिमलाई समस्या परेको बताए ।
‘हाम्रा खेलाडी मैदान भित्रको स्थिती नियन्त्रण गर्न गएका थिए । देबेन्द्र पनि नियन्त्रणका लागिनै गएका थिए । उनैले कुटाई खानु पर्यो । तर कारबाहि उनलाईनै भयो । हामीले अपिल गरेका छौं । कारबाहिले समस्या भएको छ ।’ उनले भने ।
गतसिजन मछिन्द्र र जावलाखेलको भेटमा जावलाखेलले बाजी मारेको थियो । जावलाखेलले मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
जावलाखेलको लागि अरुज सिंह र फोडे फोफानाले दोस्रो हाफमा एक एक गोल गरेका थिए । मछिन्द्रका अलवा आदेमोलाले अन्तिम मिनेटमा सान्त्वना गोल गरेका थिए ।
जावलाखेल पनि मछिन्द्रलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ । जावलाखेल मछिन्द्रका ३ खेलाडी प्रतिबन्धमा रहेको फाइदा उठाउने दाउमा छ ।
जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा बलियो मछिन्द्रसँग अंक खोस्ने दाउमा छन् ।
‘मछिन्द्रका केहि खेलाडी प्रतिबन्धमा छन् । त्यसले धेरै सहयोग भएको छ । मछिन्द्रसँग अंक गुमाउन चाहन्नौ । सकेसम्म जित नभए बराबरीमा जान्छौं ।’ नरेश भन्छन् ।
लिगमा अपराजित रहेको जावलाखेल २ जित र ३ बराबरीको नतिजा सहित ९ अंक प्राप्त गर्दै तालिकाको पाचौं स्थानमा छ ।
शनिबारको जितले मछिन्द्रलाई शीर्ष स्थान दिलाउनेछ भने जावलाखेल दोस्रो स्थानमा उक्लिने छ ।