काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा मछिन्द्र र जावलाखेल तथा दोस्रो खेलमा मनाङ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको अपराजित टिम मछिन्द्र र जावलाखेल मध्यान्न १२ बजे भिड्नेछन् ।
दोस्रो खेलमा मनाङ र शेर्पा क्लब दिउँसो ३ बजे प्रतिस्पर्धामा उत्रनेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
मंगलबारको झडपमा संलग्न खेलाडी कारबाहीमा परेपछि मछिन्द्र र मनाङ समस्यामा छन् । तर दुवै टिमलाई जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ ।
मछिन्द्र भर्सेस जावलाखेल – अपराजित टिमको भिडन्त
जावलाखेल युथ क्लब र मछिन्द्र लिगमा अपराजित छन् । प्रतियोगिताको पाँचौं चरणका खेल सकिदा दुबै क्लबले हारेका छैनन् । तर दुबै टिमले शतप्रतिशत जित निकाल्न पनि सकेका छैनन् ।
लिगमा मछिन्द्रले ३ खेलमा जित र २ मा बराबर गरेको छ । जावलाखेलले २ खेलमा जित र ३ खेलमा बराबरी गरेको छ ।
पहिलो पटक लिग जित्ने योजना बनाएको मछिन्द्रले जावलाखेल युथविरुद्ध आफ्ना महत्वपूर्ण तीन खेलाडी गुमाउने छ ।
गत मंगलबार मनाङविरुद्वको खेल सकिए लगत्तै विवादमा उत्रिएका स्ट्राईकर दिपक राई, डिफेन्डर देबेन्द्र तामाङ र विजय धिमाललाई कारबाहीमा छन् ।
तीनै खेलाडीले लिगको दुई खेल गुमाउनेछन् ।
मुख्य खेलाडी कारबाहीमा पर्दा जावलाखेलविरुद्व मछिन्द्र दबाबमा हुनेछ । प्लईङ सेटका खेलाडी गुमाउँदा मछिन्द्रले बेन्चको खेलाडी उपयोग गर्नेछ ।
प्रशिक्षक प्रवेश कटुवाल केही खेलाडीको प्रतिबन्धका बाबजुद टिम तीन अंकका लागि खेल्न तयार भएको बताउँछन् ।
‘केहि महत्वपुर्ण खेलाडी प्रतिबन्धमा परेका छन् । तर पनि तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
मछिन्द्र १० अंकका साथ तालिकाको चौथो स्थानमा छ । गत सिजन गरेको खराव प्रदर्शनका कारण मछिन्द्रले एक ऋण अंक बोकेर लिगको सुरुवात गरेको थियो ।
मछिन्द्रका प्रशिक्षक कटुवालले झगडा पर्दा खेलाडीलाई छुट्याउन गएका खेलाडीलाईनै कारबाहि गर्दा टिमलाई समस्या परेको बताए ।
‘हाम्रा खेलाडी मैदान भित्रको स्थिती नियन्त्रण गर्न गएका थिए । देबेन्द्र पनि नियन्त्रणका लागिनै गएका थिए । उनैले कुटाई खानु पर्यो । तर कारबाहि उनलाईनै भयो । हामीले अपिल गरेका छौं । कारबाहिले समस्या भएको छ ।’ उनले भने ।
गतसिजन मछिन्द्र र जावलाखेलको भेटमा जावलाखेलले बाजी मारेको थियो । जावलाखेलले मछिन्द्रलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
जावलाखेलको लागि अरुज सिंह र फोडे फोफानाले दोस्रो हाफमा एक एक गोल गरेका थिए । मछिन्द्रका अलवा आदेमोलाले अन्तिम मिनेटमा सान्त्वना गोल गरेका थिए ।
जावलाखेल पनि मछिन्द्रलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ । जावलाखेल मछिन्द्रका ३ खेलाडी प्रतिबन्धमा रहेको फाइदा उठाउने दाउमा छ ।
जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा बलियो मछिन्द्रसँग अंक खोस्ने दाउमा छन् ।
‘मछिन्द्रका केहि खेलाडी प्रतिबन्धमा छन् । त्यसले धेरै सहयोग भएको छ । मछिन्द्रसँग अंक गुमाउन चाहन्नौ । सकेसम्म जित नभए बराबरीमा जान्छौं ।’ नरेश भन्छन् ।
लिगमा अपराजित रहेको जावलाखेल २ जित र ३ बराबरीको नतिजा सहित ९ अंक प्राप्त गर्दै तालिकाको पाचौं स्थानमा छ ।
शनिबारको जितले मछिन्द्रलाई शीर्ष स्थान दिलाउनेछ भने जावलाखेल दोस्रो स्थानमा उक्लिने छ ।
खेलाडीको कारबाहीले विथाेलिएकाे मनाङ
महत्वपूर्ण खेलाडीले टिम छाडेपछि दबाबमा आएको मनाङ फेरी अर्काे तनावमा छ । मछिन्द्रविरुद्व अघिल्लो खेलमा भएको विवादले उसका केही खेलाडी प्रतिबन्धमा परेका छन् ।
गत सिजन लिग जिताउने सात खेलाडीले टिम छाडेर मछिन्द्र लागेपछि मनाङ मनोबैज्ञानिक रुपमा दबाबमा छ ।
यसपटक निकै मेहनतले औसत टिम तयार बनाएपनि पछिल्लो कारबाहीले मनाङलाई गम्भिर असर पारेको छ । शनिबार लिगको छैठौ चरणको खेलमा मनाङले हिमायनल शेर्पा क्लबको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
शनिबार मनाङले शेर्पाविरुद्ध आफ्ना तीन खेलाडी गुमाउने छ ।
यस्तै एक खेलाडी भने दोहोरो पहेलो कार्डका कारण शेर्पाविरुद्ध मैदान बाहिर हुनेछन् ।
अन्तिम खेलमा मनाङ र मछिन्द्रले २–२ को बराबरी खेलेका थिए ।
तर खेलको ह्विसल बजे लगत्तै मैदानमा दुवै क्लबका खेलाडीबीच हातपात सुरु भएपछि एन्फाले मनाङका जगजित श्रेष्ठलाई पाँच, अशोक बराललाई ६ र रन्जन विष्टलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।
दोहोरो पहेलो कार्डको कारण डिफेन्डर आदित्य चौधरीले शेर्पाविरुद्वको खेल गुमाउने पक्का छ ।
मनाङले नयाँ अनुहारलाई मौका दिने तयारी गरेको छ ।
मनाङ मस्र्याङदी हेरिरहेका धनेश्वर प्रजापति शेपालाई सामान्य टिम नसोचेर खेल्ने बताउँछन् ।
‘अघिल्लो खेलमा फ्रेण्ड्सलाई सामान्य सोच्दा बराबरीमा चित्त बुझाउन पुग्यौं । शेर्पालाई सामान्य सोच्ने गल्ती गर्दैनौ । केही खेलाडीको प्रतिबन्धले गाह्रो हुन्छ । तर तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
लिगमा ३ जित र दुई खेलमा बराबर नतिजा निकालेको मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
गत सिजनको भेटमा मनाङले शेर्पालाई २–१ ले हराएको थियो ।
तर गत सिजन गोल गर्ने तीनै खेलाडी शनिबार दुबै टिममा हुने छैनन् ।
बिशाल मछिन्द्र पुगेका छन् भने ओलावाले हाल साउदी अरेबियाको लिगमा ब्यस्त छन् ।
शेर्पा क्लबमै रहेका विश्वास घुँडाको सल्यक्रियाको कारण लिगका बाँकी सबै खेल गुमाउने छन् ।
चार खेलाडीको अनुपस्थितिमा शेर्पाले मनाङलाई रोक्ने रणनीति बनाएकाे छ ।
शेर्पा ३ खेलाडी नभएको फाइदा उठाउने दाउमा छ ।
बलियो मनाङविरुद्ध शेर्पाका प्रशिक्षक संजिब बुढाथोकी आक्रामक रुपमा प्रस्तुत बताउँछन् ।
‘मनाङ बलियो टिम हो । उसलाई जित्छौ भन्न सकिदैन । तर प्रयास गछौं ।’ पहिलो पटक शेर्पा हेरिरहेका बुढाथोकी भन्छन् ।
अन्तिम खेलमा दोस्रो पहेलो कार्डका कारण खेल गुमाएका निरज बस्नेत र आशिष गुरुङ भने मनाङविरुद्ध मैदान उत्रनेछन् ।
लिगको तेस्रो खेलमा महत्वपुर्ण आफ्ना स्ट्राइकर विश्वासलाई गुमाएको शेर्पाले इजिप्टका मिडफिल्डर मोहम्मद अप्दुल्लाह मनाङविरुद्व खेलाउनेछ ।
चोटकै कारण उनी फ्रेण्ड्सविरुद्व ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इजिप्टका खेलाडी पहिलो पटक लिग खेल्न नेपाल आएका हुन् ।
शेर्पा तीन बराबरी र दुई हारले ३ अंक जोडेको छ । मनाङविरुद्ध जित निकाले शेर्पा सातौ स्थानमा उक्नले छ ।
शेर्पाविरुद्ध जित निकाले मनाङ पुनः एक पटक लिगको शीर्ष स्थानमा उक्लने छ ।