काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
दोस्रो खेल दिउँसो ३ बजेका लागि तोकिएको छ ।
ललितपुर डर्बीमा थ्री स्टार र ब्रिगेड
करिब ८ महिना मैदान बाहिर रहेका थ्री स्टारका कप्तान विक्रम लामा गत बर्ष लिगमा मैदान फर्किए ।
पहिलो रोजाईमै लिगको सुरुवात गरेका उनले ब्रिगेडविरुद्व खेलको अतिरिक्त समयमा हेडमार्फत गोल गर्दै टिमको जितमा योगदान गरे । गोलसंगै थ्री स्टारले लगातार लिगमा दोस्रो जित निकाल्न सफल बन्यो ।
थ्री स्टारको फराकिलो जितमा ब्रिगेड ब्वाईज भने निराश थियो । खेलमा ब्रिगेड ५–१ को फराकिलो अन्तरले पराजित बनेको थियो ।
लिगको ८ महिना अघि बिक्रमले धरानमा भएको बुढासुब्बा गोल्डकप खेल्ने क्रममा खुट्टामा चोट बोक्न पुगेका थिए ।
लिगमा उत्कृष्ट पुनरागमन गरेका बिक्रमले एक बर्षको अन्तरमा पाँच वटा फिफा विश्वकप छनोटको खेल खेलिसके । घरेलु भूमीमै भएको साग खेलकुदमा देशलाई स्वर्ण जिताए । अझ फाईनलको अधिकांश समय टिमको कप्तानी गरे ।
उनै बिक्रम पुन एक पटक ब्रिगेड ब्वाईजविरुद्व खेल्दैछन् । लगातार दोहरो पहिलो कार्डका कारण यसअघिको खेल गुमाएका बिक्रम बुधबारको खेलमा थ्री स्टारको टिममा फर्कनेछन् ।
बिक्रम बिनाको अघिल्लो खेल थ्री स्टारले आर्मीसंग २–० ले गुमाएको थियो ।
‘ललितपुर डर्बीको खेल मंगलबार दशरथ रंगशालामा हुनेछ । खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
राष्ट्रिय टिमको खेलाडीको बाहुल्यता रहेको थ्री स्टारले गत सिजन ब्रिगेडलाई फराकिलो अन्तरले हराएको थियो । केही ठुला अनुहारले क्लब छाडेपछि थ्री स्टार नयाँ अनुहार सहित लिग खेल्न उत्रिएको छ ।
यता, अधिकांश पुरानै अनुहार समावेश गरेको ब्रिगेडले नयाँ सिजन सिनियर खेलाडी समावेश गरेर सन्तुलित टिम बनाउन खोजेको छ ।
यू–१९ राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका खेलाडीको बाहुल्यता रहेको ब्रिगेडले अनिल गुरुङ लगायत केही पुराना खेलाडीको साथ पाएको छ ।
अनिलले अघिल्लो सिजन थ्री स्टारबाट खेलेका थिए । नयाँ सिजन उनी ब्रिगेडको जर्सीमा बुधबार थ्री स्टारविरुद्व उत्रनेछन् । ब्रिगेड अघिल्लो सिजन थ्री स्टारसंग ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।
ब्रिगेडका व्यवस्थापक अर्विन गुरुङ बलियो थ्रीस्टारविरुद्ध आफ्ना युवा टिमले तीन अंकका लागि खेल्ने बताउँछन् ।
‘थ्रीस्टार पहिले बलियो थियो । अहिले पहिलेको अवस्थामा छैन । उसलाई जतिसक्दो आक्रमण गर्ने हो । जित्नका लागि खेल्छौं ।’ गुरुङ भन्छन् ।
उनी लय गुमाएको थ्री स्टारविरुद्ध आफ्नो टिम आक्रमक रुपमा प्रस्तुत हुने बताउँछन् ।
ब्रिगेडले लिगको १ सय १ औं खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । खेलमा विजय गुरुङले निर्णायक गोल गरेका थिए ।
लिगको पहिलो खेलमै मछिन्द्रसँग २–० ले पराजित ब्रिगेडले दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई समान गोल अन्तरले हराएको थियो ।
तेस्रो खेलमा मनाङसँग १–० ले पराजित ब्रिगेड चौथो खेलमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराएको थियो ।
ब्रिगेडले शेर्पाविरुद्वको सेटनै थ्री स्टारविरुद्ध उतार्ने तयारी गरेको छ ।
थ्री स्टार भने ब्रिगेडलाई हराउँदै पुरानै लयमा फर्कन चाहन्छ ।
अन्तिम खेलमा आर्मीसँग पराजित थ्री स्टार तीन अंकको लक्ष्य सहित मैदान उत्रने तयारी गरेको छ ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सेट टिम रहेको ब्रिगेडलाई हराउँदै तेस्रो जित आत्मासाथ गर्ने दाबी गर्छन् ।
‘ब्रिगेड यू–१९ राष्ट्रिय टिमको सेट टिम हो । केहि अनुभवि खेलाडी टिममा रहँदा बलियोनै छ । हामी आफ्नो खेल खेल्दै तीन अंक जोड्न चाहन्छौं ।’ केसी भन्छन् ।
पहिलो खेलमा जावलाखेल युथसँग गोलरहित बराबरीमा रोकिएको थ्र्रीस्टारले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा एपीएफ क्लबलाई पराजित गरेको थ्री स्टार अन्तिम खेलमा भने आर्मीसँग समान १–० ले पराजित भएको थियो ।
पछिल्लो खेलमा दोहोरो पहेलो कार्डका कारण कप्तान बिक्रम लामालाई गुमाएको उसले ब्रिगेडविरुद्व विदेशी मिडफिल्डर अलुओलादिरान एरिनोसोबिनै खेल्नेछ । उनी घुँडाको चोटको कारण आराम गर्नेछन् ।
उनको स्थानमा थ्री स्टारले यू–१९ राष्ट्रिय टिमका मिडफिल्डर शिव सुवेदीलाई खेलाउने तयारी गरेको छ । हाल भारतीय सैनिकमा जागिरे उनी छुट्टी मनाउन नेपाल आएका हुन् ।
थ्री स्टार ७ अंक सहित लिगको पाँचौं स्थानमा छ । ब्रिगेड ६ अंक सहित सातौं स्थानमा छ ।
शतक गोलमा अड्किएको च्यासल
लिगको सुरुवाती दुई खेलमा प्रभावशाली जित निकालेको च्यासल तेस्रो खेलबाट लय गुमाउन पुग्यो । सन्तोष शाहुखलको शतक गोलको प्रतिक्षामा रहेको च्यासलको पछिल्लो प्रर्दशन अपेक्षित छैन ।
सन्तोषले सुरुवाती खेलमा च्यासललाई जित दिलाउँदै घरेलु लिग फुटबलमा शतक गोलको नजिक पुगेका छन् । तर विपक्षी टिम सन्तोषको सय गोलमा रोक्न केन्द्रित हुँदा च्यासलमाथि दबाब थपिएको छ ।
अन्य खेलाडी त्यसको फाईदा उठाउन सकिरहेका छैनन् । त्यसकै सजाय स्वरुप च्यासल पछिल्लो खेलमा एनआरटीसँग २–१ ले पराजित हुन पुगेको थियो ।
चौथो खेलमा समेत च्यासलले सोही गल्ती गर्यो र नतिजा विपक्षीलाई सुम्पियो । सन्तोषको शतक गोलमै केन्द्रित हुँदा च्यासलले जावलाखेललाई नतिजा सुम्पियो ।
तर सन्तोषको दाजु समेत रहेका प्रशिक्षक बालगोपाल शाहुखलले अन्य खेलाडी अल्छी गर्दा टिमले नतिजा ल्याउन नसकेको बताउँछन् । उनी सन्तोषको शतक गोलमा टिम केन्द्रित नभएको दाबी गर्छन् ।
शतकमा अड्किएका सन्तोष र लय गुमाएको च्यासलले बुधबार विभागीय टिम पुलिससंग खेल्दैछ ।
दशरथ रंगशालामा हुने खेलमा दिउँसो ३ बजे सूरु हुनेछ ।
पछिल्ला दिनमा आफ्नो फिटनेशलाई निकै ध्यान दिएका सन्तोषले राष्ट्रिय टिमका पुरानै सहकर्मी जुमानु राईको टिम पुलिससंग खेल्दैछन् । सन्तोष जापानबाट फर्किएका हुन् भने जुमानुले भर्खरै युएन मिसन सकेर पुलिसको फुटबल टिमसंग गाँसिएका छन् ।
दुई पुराना प्रभावशाली फरवार्डको जम्काभेटमा दशरथ रंगशाला पुन एक पटक साक्षी बस्नेछ । दुवै टिम तीन अंकका लागि कोशिश गर्नेछन् । पुलिस लिगको तेस्रो जितको खोजीमा हुनेछ भने च्यासल दोस्रो जित निकाल्न चाहन्छ ।
पुलिसका प्रशिक्षक अनन्त राज थापा च्यासलविरुद्ध आफ्नो टिम स्पष्ट तीन अंकका लागि खेल्ने बताउँछन् । ‘लगातार दुई जितले टिमको आत्मबल बढेको छ । त्यसैले लगातार तेस्रो जित निकाल्ने दाउमा छौं । च्यासललाई जित्न खेल्छौं ।’ थापाले भने ।
गत बर्ष भएको दुई टिमको भेटमा पुलिसले बाजी मारेको थियो ।
खेलको म्यान अफ दि म्याच रवि पासवानले पहिलो हाफ र दोस्रो हाफमा भरत शाहले गोल गरेका थिए ।
च्यासललाई भने पुलिससँग गत बर्ष लिगमा ब्यहोरेको हारको बदला लिने अवसर छ ।
च्यासलका प्रशिक्षक बालगोपाल साहुखल उत्कृष्ट लयमा रहेको पुलिसविरुद्ध जित निकाल्ने लक्ष्य सहित टिम मैदान उत्रने बताउँछन् ।
‘पुलिसले लगातार दुई खेल जितेको छ । उसको मनोबल उच्च छ । तर पनि समान टिम भएकाले जित्न खेल्छौं ।’ पहिलो पटक ए डिभिजन क्लब हेरिरहेका शाहुखल भन्छन् ।
उनी प्राविधिक रुपमा उत्कृष्ट जापानीज खेलाडीले शारीरीक रुपमा बलिया पुलिसविरुद्व गर्ने प्रर्दशनलाई लिएर प्रतिक्षा गरिरहेको बताउँछन् ।
अन्तिम खेलमा जावलाखेलसंग पराजित भएपछि साहुखलले आफ्ना जापानीज खेलाडीले अफ्रिकन मुलका खेलाडीसँग शारीरीक रुपमा खेल्न नसकेको प्रतिक्रिया दिएका थिए ।
हाल च्यासलमा दुई जापानीज खेलाडी रहेका छन् ।
सुरुवाती दिनमा तीन खेलाडी रहेपनि मिडफिल्डर जुनिचि ओजावा भने टिम छाडेर स्वदेश फर्किसकेका छन् ।
उनी टिमको प्लेईङ सेटमा नअटाएपछि टिम छाडेर स्वदेश लागेका हुन् ।
राष्ट्रिय टिमका केहि अनुभवी र जापानीज खेलाडी पुलिसविरुद्ध प्रभाबशाली देखिन सक्छन् । हाल च्यासलमा गोलरक्षक एलन न्यौपाने, सुनिल बल, नितिन थापा, हेमन्त थापा मगर, छिरिङ गुरुङ र अमिर श्रेष्ठ जस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी रहेका छन् ।
पुलिसविरुद्ध च्यासलका अमिर श्रेष्ठ र चेतन कुमार थारुले लगातार दुई पहेलो कार्डका कारण खेल गुमाउने छन् ।
यता, पुलिसका हेम तामाङले पनि च्यासलविरुद्ध दोहोरो पहेलो कार्डका कारण खेल गुमाउने छन् ।
यस्तै संकटाविरुद्ध आराम गरेका राष्ट्रिय टिमका विंगर रवि पासवान टिममा फर्कने संकेत गरेका छन् ।
पुलिस लिगमा ७ अंक सहित छैठौं र च्यासल ४ अंक सहित नवौं स्थानमा छ ।