काठमाडौं । हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबलाई एउटै कुराले सताईरहेको छ ।
कसरी लिगको रेलिगेशनबाट बच्ने ?
सहिद स्मारक ए डिभिजन लिगको पाचौं चरणका खेल चलिरहँदा दुबै टिम तालिकको अन्तिममा छन् ।
तालिकाको पुछारमा रहेका शेर्पा र फ्रेण्ड्स क्लब मंगलबार आमने सामने हुदैछन् ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ ।
रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।
दुबै टिम त्यसका लागि तयार समेत छन् ।
लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।
फ्रेन्ड्स एक बराबरी र तीन हार सहित एक अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।
दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका छन् ।
फ्रेण्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ समान स्तरको टिमसंग खेल्न तयार रहेको बताउँछन् ।
उनी पहिलो पटक लिगमा तीन अंक लिने लक्ष्यबारे प्रष्ट छन् ।
‘शेर्पा र हाम्रो स्तर एउटै हो । उनीहरु भन्दा अझै हामी बलियो छौं । खेलाडीमा आत्मविश्वास पनि छ । पहिलो तीन अंकको लागि खेल्छौं ।’ ब्राजेलियन प्रशिक्षकको सहायक रहेका तामाङ भन्छन् ।
उनले पछिल्लो खेलमा पूर्व च्याम्पियन मनाङलाई बराबरीमा रोकेको कारण टिमका खेलाडीमा आत्मविश्वास बढेको बताउँछन् ।
लिगको सुरुवाती खेलमा आर्मीसँग २–१ गोल अन्तरमा रोकिएको फ्रेण्ड्सले दोस्रो खेलमा ब्रिगेड ब्वाईजसँग अन्तिम समयमा लगातार २ गोल ब्यहोर्न पुगेको थियो ।
यस्तै तेस्रो खेलमा मछिन्द्रसँग ३–० गोल अन्तरले पराजित फ्रेण्ड्स अन्तिम खेलमा भने साविक विजेता मनाङलाई बराबरीमा रोक्न सफल भएको थियो ।
यता, शेर्पा पनि फ्रेण्ड्सलाई पराजित गर्दै तीन अंक ल्याउने दाउमा छ ।
पहिलो पटक ए डिभिजन लिगमा क्लब हेरिरहेका शेर्पाका प्रशिक्षक संजिब बुढाथोकी फ्रेण्ड्ससँग जित्नका लागि मैदान उत्रने बताउँछन् ।
‘फ्रेण्ड्ससँग खेल्न तयार छौं । टिम तयार छ । जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछौं ।’ उनी भन्छन् ।
फ्रेण्ड्सँग भने शेर्पाले आफ्ना दुई डिफेन्डरलाई गुमाउने छ । उसका निरोज बस्नेत र आशिष गुरुङलाई पाचौं खेलमा उपस्थित हुने छैनन् । दुबै खेलाडीले अघिल्लो खेलमा दुई पहेलो कार्ड पाएका थिए ।
शेर्पाले पहिलो खेलमा विभागीय टोली पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा अर्काे विभागीय एपीएफसंग बराबरी खेलेको शेर्पाले तेस्रो खेलमा आर्मीसंग २–० र ब्रिगेड ब्वाईजसँग १–० को हार ब्यहोर्नु परेको थियो ।