काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको तेस्रो चरणसम्म विभागीय टिम एपीएफ क्लब जित विहीन थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको चौंथो चरणमा एपीएफले पहिलो जित निकाल्यो । पहिलो ३ अंक जोड्ने क्रममा एपीएफले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हरायो ।
लिगमा पहिलो जित निकालेपछि एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राहत महसुस गरे। ‘रेलिगेसन क्षेत्रबाट बचियो,’ पोस्ट म्याच कन्फरेन्समा उनले भने।
हुन पनि लिगको अघिल्ला ३ खेलमा एपीएफले मात्र एक अंक जोडेको थियो । जसको कारण मुख्य प्रशिक्षक तामाङ निकै दबाबमा थिए । सरस्वतीमाथिको जितले भने उनलाई राहत मिलेको छ ।
जितसँगै एपीएफले चार खेलबाट ४ अंक बटुलेको छ । र, लिगको १० औं स्थानमा उक्लिएको छ । यस जितले एपीएफको रेलिगेसनको दबाब तत्कालको लागि टरेको छ ।
सरस्वतीविरुद्ध ३ अंक जोडेपनि एपीएफले प्रभावशाली खेल भने प्रस्तुत गर्न सकेन । पहिलो हाफमा सरस्वतीले गोलको केहि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । पहिलो हाफमै सरस्वतीका तथा \ यू-१९ टिमका सदस्य मनिष थापाका दुई पोष्ट प्रहार बारमा लागेर फर्किएको थियो ।
तर, दोस्रो हाफमा भने एपीएफले पाएको मौकालाई सदुपयोग गर्यो । एपीएफलाई जित दिलाउन वैकल्पिक खेलाडी आशिष लामाले दुबै गोल गरे । अन्तिम समयमा सरस्वतीका विनोद केसीले एक गोल फर्काएपनि त्यो निकै ढिला भईसकेको थियो ।
महत्वपूर्ण ३ अंकले राहत महसुस गरेका प्रशिक्षक तामाङ टिमको प्रदर्शनमा भने पटक्कै खुसी देखिएनन् ।
‘हामीलाई चाहिएको महत्वपूर्ण अंक आयो । तर, टिमले सरस्वतीको जस्तो पनि खेल्न सकेन । खेल हेर्दा हामीले हार्नुपर्ने थियो,’ उनले भने, ‘विभागीय टिम हुँदा धेरै दबाब भयो । तालमेलनै मिलिरहेको थिएन । अब भने सहज हुन्छ । बिना दबाब खेल्न सक्छौं ।’
यता, सरस्वतीलाई रेलिगेसनको डर भएको छ । लिगको चार खेल खेल्दा सरस्वती अंक विहीन रहदै पुछारमा रहेको छ ।
तर, सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल भने टिम रेलिगेसनबाट जोगिने बताउछन् ।
‘चार खेलमात्रै खेलेका छौं । अहिलेनै भनिहाल्ने अवस्था छैन । अगाडिको टिमको पनि धेरै अंक फरक छैन । हामी अझै रेलिगेसनबाट बच्नलाई खेल्छौं,’ ७ वर्षयता सरस्वती हेरिरहेका नेपालले भने ।
चौंथो चरणको समाप्तिपछि .....
लिगको चौंथो चरण सकिदा अपराजित मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । चौथो खेलमा फ्रेन्ड्ससँग १–१ को बराबरीमा रोकिएपनि साविक विजेता मनाङले आफुलाई शीर्ष स्थानमा कायमै राख्न सफल भयो । मनाङले १० अंक जोडेको छ ।
चौंथो खेलमा प्रभावशाली प्रदर्शन गरेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले थ्री स्टार क्लबलाई बिहीबार २–० गोल अन्तरले पराजित गरेको थियो । थ्री स्टारमाथिको जितसँगै आर्मी तेस्रो स्थानमा उक्लिएको हो ।
आर्मीले ४ खेलबाट ९ अंक रहेको छ । समान ९ अंक भएपनि मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ । जारी लिगमा मछिन्द्र पनि अपराजित रहेको छ । तर, अघिल्लो सिजन लिगको रेलिगेसन क्षेत्रमा रहेको कारण उसको एक अंक खोसिएको छ ।
चौंथो चरण सकिदा जावलाखेल युथ क्लब चौंथो स्थानमा रहेको छ । चौंथो खेलमा च्यासल युथ क्लबविरुद्ध अप्रत्यासित २–० को जित निकाल्दै जावलाखेल ८ अंकका साथ चौथो स्थानमा उक्लिएको हो ।
यता, थ्री स्टार भने छैटौं स्थानमा झरेको छ । चौंथो खेलमा आर्मीसँग हार व्यहोरेको थ्री स्टार ७ अंक जोडेर छैटौं स्थानमा झरेको हो ।
लिगमा ७ अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रहेको छ ।पुलिसले लिगको चौंथो खेलमा संकटालाई २–१ गोल अन्तरले हराएको थियो ।
लाहुरेको क्लब भनेर चिनिने ब्रिगेड ब्वाईजले तीन स्थान फड्को मार्याे । राष्ट्रिय टिमका पूर्व मिडफिल्डर विजय गुरुङको निर्णायक गोलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको ब्रिगेड ६ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिएको हो ।
लिगमा ४ अंक जोडेको एनआरटी, च्यासल युथ, एपीएफ र संकटा क्लब क्लब क्रमशः लिगको आठौं, नवौं, दशौं र एघारौं स्थानमा रहेका छन् ।
यस्तै २ अंक जोडेको हिमालयन शेर्पा १२ औं, १ अंक जोडेको फ्रेन्ड्स क्लब १३ औं र अंक विहीन सरस्वती १४ औं स्थानमा रहेका छन् ।