काठमाडौं । लिगको पुछारमा रहेका टिम हुन्, सरस्वती युथ र विभागीय एपीएफ ।
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल चलिरहँदा सरस्वती लिग तालिकाको पुछारमा छ । एपीएफ १२ औं स्थानमा रहेको छ ।
तीन खेल सकिदाँ सरस्वतीले अंक जोड्न सकेको छैन । अंक मात्र हैन, उसले प्रतियोगितामा एक गोल पनि गर्न सकेको छैन । तर ७ गोल ब्यहोरेको छ ।
एपीएफ भने एक अंक बटुल्दै लिगको १२ औं स्थानमा छ ।
खराब लयबाट गुज्रिरहेका दुवै टिम लिगको चौथो खेलमा बिहिबार भिड्दैछन् ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
पहिलो जितको खोजीमा रहेका दुबै टिमलाई लिगमा पहिलो जित निकाल्ने अवसर रहेको छ ।
विभागीय एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ एउटै स्तरको सरस्वतीविरुद्ध जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।
‘सरस्वती राम्रो टिम छ । एक प्रकारले बराबर टिम हौं । तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
एपीएफले सरस्वती युथविरुद्धको खेलमा आफ्ना दुई खेलाडी गुमाउने छ ।
फरवार्ड राजिब लोप्चान दोहोरो पहेलो कार्डका कारण एक खेलको निलम्बनमा छन् ।
यस्तै मिडफिल्डर रामकुमार कुमाल घुँडाको चोटको कारण सरस्वतीविरुद्व खेल्ने छैनन् । उनी तीन हप्ता मैदान बाहिर रहनेछन् ।
लिगको पहिलो खेलमा मनाङसँग २–० गोल अन्तरले पराजित भएको एपीएफ दोस्रोमा हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो ।
अन्तिम खेलमा पनि एपीएफ थ्रीस्टारसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
यता, तीन खेलमा अंक बिहिन सरस्वती पनि एपीएफलाई हराउने दाउमा छ ।
विदेशी खेलाडीको साथ पाएको सरस्वती एपीएफलाई पराजित गर्दै पहिलो अंक लिन चाहन्छ ।
‘एपीएफ बलियो टिम हो । तीन अंक लिनका लागि खेल्छौं ।’ सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल भन्छन् ।
लिगको पहिलो खेलमा एनआरटीसँग ४–० गोल अन्तरले पराजित सरस्वती दोस्रो खेलमा जावलाखेलसँग १–० र तेस्रोमा पुलिससँग २–० गोल अन्तरले पराजित भएको थियो ।
सरस्वतीका प्रशिक्षक नेपालले आफ्नो टिमले अझै केहि खेल खेल्न बाँकी रहेको उल्लेख गर्दै रेलिगेशन जोनबाट बाहिरिने बताउँछन् ।
एपीएफका प्रशिक्षक तामाङले टिमको लक्ष्य शीर्ष ६ भित्र अटाउने रहेको उल्लेख गर्दै बिस्तारै नतिजा निस्कने विश्वास ब्यक्त गरेका छन् ।
यो पनि पढ्नुस्
‘आँशु नझरेकाे दिन थिएन’