काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको तेस्रो दिन संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
पहिलो खेलमा संकटा र पुलिस बिहान साँढे ११ बजे भिड्नेछन् । आर्मी र थ्री स्टारको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् ।
दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।
दोस्रो जितको खोजीमा संकटा र पुलिस
गत सिजनको उपविजेता संकटा र बिभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् ।
लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेका छन् भने अर्को खेलमा जित निकालेका छन् ।
सन्तुलित टिमको परिचय बनाएका दुवै टिम प्रर्दशनमा सुधार गर्दै अंक तालिकामा माथि उक्लिने दाउमा छन् । एन्फा कम्प्लेक्समा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
लिगमा पुुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडी छ ।
लिगको सुरुवाती खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटा दोस्रो खेलमा एनआरटीलाई १–० ले हराएको थियो । तेस्रो खेलमा भने संकटा जावलाखेलसँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।
यता, पुलिस पहिलो खेलमै हिमायन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकियो भने दोस्रो खेलमा थ्रीस्टारसँग १–० ले पराजित भयो ।
पुलिसले तेस्रो खेलमा सरस्वतीलाई हराएको थियो ।
पुलिस क्लबको प्रशिक्षक अनन्त राज थापा संकटाविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्ने बताउँछन् । ‘संकटासँग तीन अंकको लागि खेल्छौं ।’ उनी भन्छन् ।
पछिल्लो समय राष्ट्रिय टिमका लेफ्ट ब्याक डिफेन्डर रविन श्रेष्ठको आगमनमा पुलिस हौसिएको छ ।
लिससंग राष्ट्रिय टिमका तीन खेलाडी छन् । संकटामा दुई खेलाडी छन् ।
पुलिसबाट खेल्ने डिफेन्डर अजित भण्डारी, मिडफिल्डर तेज तामाङ र रवि पासवान राष्ट्रिय टिममा रहेका छन् । संकटाका डिफेन्डर सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङ राष्ट्रिय टिमका सदस्य हुन् ।
संकटा पनि लिगमा दोस्रो जित निकाल्ने दाउमा छ ।
विदेशी तीन खेलाडीको साथ पाएको उसले पुलिसविरुद्ध विदेशी खेलाडीको प्रभावमा तीन अंक बटुल्न चाहन्छ ।
‘नेपालमा विदेशी खेलाडी चलेको अवस्थामा सहज जित आउँछ । पुलिसविरुद्ध उनीहरु चलेमा जित निकाल्न सक्छौ ।’ उनी भन्छन् ।
अन्तिम खेलमा विदेशी खेलाडी चल्न नसक्दा जावलाखेलविरुद्व संकटा बराबरीमा रोकिन पुगेको थियो । पहिलो खेलमै च्यासलसँग पराजित भएको संकटाले त्यसपछि सम्हालिएको प्रर्दशन गर्दै आएको छ ।
गत सिजन संकटाले पुलिसलाई २–१ ले पराजित गरेको थियो ।
पुलिस गत सिजनको हारको बदला लिने अवसरमा हुनेछ ।
थ्री स्टार र आर्मीको महत्वपुर्ण भिडन्त
गत सिजन लिगको नवौ खेलमा थ्री स्टार र आर्मी भिडेका थिए । आर्मीविरुद्धको त्यो खेल लगभग थ्री स्टारले जितिसकेको अवस्था थियो ।
थ्री स्टारका अफिसियल र फ्यान खेल जितेको खुसीयाली मनाउन सुरु गरिसकेका थिए । ९० मिनेटको खेल १–० ले सकिएको थियो ।
सायद थ्री स्टारलाई खेलनै जितियो भन्ने लागेको थियो ।
तर कथा त्यतिमै सकिने थिएन ।
शनिबारको दिन बिभागको ट्रेनिङबाट छुट्टी मनाउन भनेर जर्ज प्रिन्स कार्की खेल्न आएका थिए । उनैले खेलकाे अन्तिम समयमा डिबक्सको ठिक बाहिरबाट पाएको फ्रिकिकमामा गोल गर्दै थ्री स्टारलाइ निराश बनाएका थिए । खेल एक एकको बराबरीमा सकियो । तालिकामा थ्री स्टार संकटा भन्दा तल झर्याे । त्यसपछि थ्री स्टारले आफुलाई लिग तालिकामा माथि चढाउने सकेन ।
लिग जित्ने लक्ष्य बनाएका आर्मी र थ्री स्टार लिगको चौथो चरणमै आमने सामने हुदैछन् ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगको २७ औं खेलमा दुवै टिम भिड्दैछन् । दुवै टिमको लक्ष्य स्पष्ट तीन अंक बटुल्दै तालिकामा सुधार गर्नु हुनेछ ।
लिगको तीन खेलमा दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक छ ।
दुई जित र एक खेलमा हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक छ ।
आर्मीविरुद्ध जित हात पार्दै थ्री स्टारलाई दोस्रो स्थानमा उक्लने अवसर रहेको छ ।
गोल संख्यामा सुधार गर्न सकेमा थ्री स्टार शीर्ष स्थानमा समेत फर्कन सक्छ । त्यसैले पनि थ्री स्टार आर्मीविरुद्व फराकिलाे जित निकाल्न चाहन्छ ।
थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसी आर्मीसँग खेल्न तयार भएको र आफुहरु तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘आर्मीसँग खेल्न तयार छौं । खेलाडीहरु तयार छन् । तीन अंकको लागि खेल्छौ. ।’ उनी भन्छन् ।
तेस्रो खेलमा थ्री स्टारले महत्वपुर्ण खेलाडी रुपेश केसीलाई गुमाएको छ । बुधबार आर्मीविरुद्ध कप्तान विक्रम लामा थ्री स्टारलाई उपलब्ध हुने छैनन् ।
दुई पहिलो कार्डका कारण उनी आर्मीविरुद्व अनुपस्थित रहनेछन् । तर कप्तान नहुँदा समेत अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु आशाबादी भएको प्रशिक्षक केसी बताउँछन् ।
आर्मी पनि थ्रीस्टारलाई पराजित गर्दै लिगमा अगाडि बढ्ने योजनामा छ । लिग जित्ने लक्ष्य बनाएको आर्मी दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । हिमालयन शेर्पा र फ्रेन्ड्सविरुद्ध आर्मीले जित निकालेको छ ।
आर्मीले प्रतिबन्धमा परेका मिडफिल्डरको आगमनसँगै गति समाल्ने विश्वास लिएको छ । डिस्को काण्डमा मुछिएका सन्तोष एन्फाको कारबाहिका कारण तीन खेल खेल्नबाट बञ्चित भए ।
आर्मीका सहायक प्रशिक्षक चुनबहादर थापा थ्री स्टारविरुद्ध तीन अंकको लागि खेल्ने बताउँछन् ।
‘एक खेलमा पराजित भैसकेका छौं । हाम्रो लक्ष्य भनेको लिग उपाधि जित्नु हो । त्यसैले थ्री स्टारविरुद्ध जितको विकल्प छैन ।’ उनी भन्छन् ।
सन्तोषको आगमनसँग टिम पुर्ण रुपमा सेट हुने आर्मीको दाबी छ ।
थ्री स्टारविरुद्ध आर्मीले मिडफिल्डर गुमाउने छ । दोहोरो पहेलो कार्डका कारण आर्मीका दिनेश हेम्जन थ्री स्टारविरुद्व अनुपस्थित रहनेछन् ।