काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेलेका हुन् ।
खेलको ३४ औं मिनेटमा च्यासलले गोलको सुनौलो अवसर गुमाएको थियो । सुनिल बलले मैदानको बायाँ भागबाट प्रहार गरेको फ्रिकिक पासमा डिबक्स भित्र रहेका छिरिङ गुरुङ गोल गर्न चुके । उनले बाहिर प्रहार गरेका थिए ।
३८ औं मिनेटमा च्यासलले अर्को अवसर गुमाएको थियो । जापानी खेलाडी हायातो वाकिनोको पासमा डिबक्स भित्रबाट कप्तान सन्तोष शाहुखलको प्रहारले पोष्टको दिशा लिन सकेनन् ।
खेलको ४० औं मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीले डिबक्स बाहिरबाट हानेको प्रहार दोस्रोबारबाट बाहिरिएको थियो ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
लिगमा जावलाखेल अपराजित रहेको छ । जावलाखेलले थ्री स्टार र संकटासँग बराबर खेलेको थियो । यस्तै सरस्वतीलाई पराजित गरेको थियो । तीन खेल सकिदाँ जावलाखेल पाँचौं स्थानमा छ ।
लिग जित्ने लक्ष्य बनाएको च्यासलले तीन खेल सकिदाँ एक जित, एक बराबरी र एकमा हार व्यहोरेको छ । च्यासल ४ अंक सहित लिगको आठौं स्थानमा छ ।
पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्रसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । तेस्रो चरणमा भने एनआरटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।